देशभर नागरिकको पोषण अवस्था जाँच्न सूक्ष्म पोषक तत्त्व सर्वेक्षण गरिने

भिटामिन ‘ए’, आइरन, आयोडिन र फोलिक एसिडको अवस्था पत्ता लगाउन आगामी मंसिरमा देशव्यापी अध्ययन गरिने भएको छ। सर्वेक्षणबाट प्राप्त नतिजाका आधारमा सरकारले हाल सञ्चालनमा रहेका पोषण कार्यक्रम र नीतिमा आवश्यक परिवर्तन गर्ने तयारी गरेको छ।

काठमाडौँ। नेपाली नागरिकको शरीरमा आवश्यक सूक्ष्म पोषक तत्त्वको अवस्था पहिचान गर्न सरकारले देशव्यापी सर्वेक्षण गर्ने भएको छ। आगामी मंसिरमा सञ्चालन हुने अध्ययनमार्फत भिटामिन ‘ए’, आइरन, फोलिक एसिड तथा आयोडिनको उपलब्धतासँगै रक्तअल्पताको अवस्थासमेत मूल्यांकन गरिनेछ।

स्वास्थ्य अधिकारीहरूका अनुसार सामान्यतया प्रत्येक १० वर्षमा गरिने यस्तो सर्वेक्षण यसअघि सन् २०१६ मा गरिएको थियो। यसपटकको अध्ययन स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार आगामी १७ र १८ कात्तिकमा सञ्चालन हुने भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण अभियान सम्पन्न भएको छ हप्तापछि सर्वेक्षण सुरु गरिनेछ। भिटामिन ‘ए’ को वास्तविक अवस्था पत्ता लगाउन अभियान केही समय रोक्ने विषयमा छलफल भए पनि विज्ञहरूको सुझावपछि नियमित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारदेखि दुई दिनसम्म देशभर भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दैछ। अभियानअन्तर्गत ६ देखि ५९ महिनासम्मका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य राखिएको छ। त्यस्तै, एकदेखि पाँच वर्ष उमेर समूहका करिब १९ लाख बालबालिकालाई जुकाको औषधिसमेत वितरण गरिनेछ। कार्यक्रम सञ्चालनका लागि देशभर करिब ५४ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन्।

नेपालमा सन् २००३ देखि हरेक वर्ष अप्रिल र नोभेम्बर महिनामा दुईपटक भिटामिन ‘ए’ खुवाउने अभियान सञ्चालन हुँदै आएको छ। बालबालिकाको स्वास्थ्य र पोषण सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमलाई सर्वेक्षणका कारण प्रभावित हुन नदिने स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

यसअघि सन् २०१६ मा अमेरिकी सरकारको आर्थिक सहयोगमा गरिएको सर्वेक्षणमा बालबालिकाको खानपान, खानेपानी तथा सरसफाइ, पोषणयुक्त खानेकुराको विविधता, आइरन र जिंकको कमी, रक्तअल्पता, किशोरी तथा महिलाको पोषण अवस्था र नेपाली नागरिकमा आयोडिनको उपलब्धतासम्बन्धी विषय समेटिएका थिए।

यसपटकको अध्ययनबाट प्राप्त तथ्यांकका आधारमा बालबालिकालाई नियमित रूपमा भिटामिन ‘ए’ खुवाउनुपर्ने वा नपर्ने विषयको मूल्यांकन गरिनेछ। त्यस्तै, उपभोग गरिने नुनमा आयोडिनको मात्रा आवश्यकताअनुसार मिलाउने तथा पोषणको जोखिममा रहेका समूहलाई सूक्ष्म पोषक तत्त्व मिसाइएको खाद्य पदार्थ उपलब्ध गराउने कार्यक्रमबारे पनि पुनर्विचार गरिनेछ।

यसअघि गत वैशाखमै सर्वेक्षण सुरु गर्ने तयारी भए पनि आर्थिक स्रोतको अभावले कार्यक्रम अघि बढ्न सकेको थिएन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले नेपालसहित विभिन्न देशमा सञ्चालन भइरहेका सहायता कार्यक्रम स्थगित गरेपछि अध्ययनका लागि आवश्यक बजेट व्यवस्थापनमा समस्या आएको अधिकारीहरूले बताएका छन्।

यसपटकको सर्वेक्षणका लागि अमेरिकी सरकारले संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) मार्फत ३५ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। सर्वेक्षणबाट प्राप्त नतिजाले नेपालको पोषणसम्बन्धी विद्यमान अवस्था स्पष्ट पार्नुका साथै आगामी स्वास्थ्य नीति र कार्यक्रम निर्धारण गर्न आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

१६ कार्तिक २०८३, आईतवार २०:०७