सिन्धुपाल्चोकको जुगल–२ हिमालमा पहिलो पटक सफल आरोहण, तीन स्पेनी पर्वतारोहीले बनाए कीर्तिमान

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकस्थित ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलो पटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोहीले शनिबार हिमालको चुचुरोमा पुगेर पहिलो सफल आरोहणको इतिहास रचेका हुन्।

‘ड्रिम क्यारियर ट्रेक्स एन्ड एक्सपिडिसन’मार्फत आरोहणमा गएका स्पेनी नागरिक मिकेल जाबाल्जा, मिकेल साएज र रुबेन पेरेजले कठिन भौगोलिक अवस्था पार गर्दै हिमालको शिखरमा पाइला राखेका हुन्। जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङले उनीहरूले सफलतापूर्वक आरोहण सम्पन्न गरेको जानकारी दिएका छन्।

जुगल हिमशृंखलामा पर्ने यो हिमाल प्राकृतिक बनावट, ठाडो भिरालो सतह र प्राविधिक रूपमा चुनौतीपूर्ण मार्गका कारण आरोहणका लागि कठिन मानिँदै आएको थियो। यसअघि पनि विभिन्न प्रयास भए तापनि आरोहीहरू शिखरमा पुग्न सफल भएका थिएनन्।

स्थानीय गाइड लाक्पा शेर्पाका अनुसार जुगल–२ मा पहिलो पटक भएको सफल आरोहणले नेपालको पर्वतारोहण क्षेत्रमा नयाँ सम्भावना थपेको छ। यसले अन्तर्राष्ट्रिय पर्वतारोहीको ध्यान जुगल हिमशृंखलातर्फ आकर्षित गर्नुका साथै सिन्धुपाल्चोकको साहसिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, जिल्लाको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले जुगल गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ अभियान सञ्चालन गरिरहेको छ। ‘गन्तव्य जुगल’ भन्ने नारासहित अघि बढाइएको अभियानले हिमाल आरोहण, नयाँ पदमार्गको खोजी तथा विकास, स्थानीय कला–संस्कृति र धार्मिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिएको छ।

त्यस्तै, पर्यटकलाई आकर्षित गर्न आवश्यक पूर्वाधार निर्माण तथा स्थानीय पर्यटन व्यवसायको विकासमा समेत गाउँपालिकाले जोड दिएको छ।

जुगल–२ हिमालको पहिलो सफल आरोहणले गाउँपालिकाको भ्रमण वर्ष अभियानलाई थप प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। यसबाट जुगल क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्वतारोहण तथा साहसिक पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न र स्थानीय बासिन्दाको आर्थिक गतिविधि विस्तार गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।

१७ कार्तिक २०८३, सोमबार १२:०४