सिन्धुपाल्चोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, आरोपी फरार


जनतापत्र,चौतारा
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोप लागेका श्रीमान फरार रहेकाले प्रहरीले खोजी कार्य तीव्र बनाएको छ।
मृत्यु हुनेमा स्थानीय मिना राना रहेकी छन्। घटनामा संलग्न भएको आरोप लागेका उनका श्रीमान मिनबहादुर भण्डारी घटनापछि सम्पर्कविहीन भएका छन्।


प्राप्त जानकारीअनुसार मिना केही दिनदेखि माइत चौतारा साँगाचोकगढी नगरपालिका–७ पौवामा बस्दै आएकी थिइन्। मंगलबार श्रीमान मिनबहादुर उनलाई घर फर्काएर लगेका थिए। त्यसपछि साँझ दुवैले मदिरा सेवन गरेको र सामान्य विवाद चर्किँदा मिनबहादुरले कुटपिट गरेको प्रारम्भिक जानकारी आएको छ।
स्थानीयका अनुसार बुधबार बिहान मिना घरभित्र मृत अवस्थामा फेला परेकी थिइन्। उनको टाउको र घुँडामा चोटका साथै शरीरमा निलडाम देखिएको बताइएको छ। घटनास्थलको प्रारम्भिक अवलोकनमा धारिलो हतियार प्रयोग भएको संकेत भने फेला नपरेको स्थानीयले बताएका छन्।
वडा सदस्य रवि खत्रीका अनुसार प्रारम्भिक रूपमा मदिराको नशामा भएको विवादका क्रममा मुक्काप्रहार हुँदा घटना भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि घटनाको वास्तविक कारण भने अनुसन्धानबाट मात्रै खुल्ने उनले बताए।
घटनाबारे सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले शवलाई पोस्टमार्टमका लागि पठाइएको र प्रतिवेदन प्राप्त भएपछि घटनाको कारणबारे थप स्पष्ट हुने जानकारी दिए।
फरार रहेका मिनबहादुर भण्डारीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका सबै पक्षको सूक्ष्म अनुसन्धान गरिरहेको र अनुसन्धान पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिने जनाएको छ।

३१ असार २०८३, बुधबार १२:४३