जनतावत्र, सिन्धुपाल्चोक ।
वातावरण संरक्षण र प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यका साथ चौतारा साँगाचोकगढी नगरपालिका–१४ लाई सिन्धुपाल्चोक जिल्लाकै पहिलो ४० माइक्रोनभन्दा पातलो प्लास्टिकमुक्त वडा घोषणा गरिएको छ। एक विशेष कार्यक्रमका बीच गरिएको घोषणासँगै अब वडाभित्र पातलो प्लास्टिकको प्रयोग नगर्ने र नगराउने अभियान औपचारिक रूपमा सुरु भएको छ।

कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यापारी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। घोषणा समारोहमा बोल्दै वडा नेतृत्वले प्लास्टिक प्रदूषणले वातावरण, मानव स्वास्थ्य तथा जैविक विविधतामा गम्भीर असर पारिरहेको उल्लेख गर्दै अब व्यवहारमै परिवर्तन ल्याएर स्वच्छ र हरित वडा निर्माणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

घोषणासँगै वडाभित्र सञ्चालनमा रहेका सबै पसल तथा व्यवसायीलाई ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला बिक्री तथा वितरण नगर्न आग्रह गरिएको छ। त्यस्तै आम उपभोक्तालाई पनि यस्ता प्लास्टिकको प्रयोग पूर्ण रूपमा बन्द गरी कपडाका वा पुनः प्रयोग गर्न मिल्ने झोला प्रयोग गर्न अनुरोध गरिएको छ।

कार्यक्रममा सहभागी प्रत्येक घरपरिवारलाई नमुनाका रूपमा एक–एक थान कपडाको झोला वितरण गरिएको थियो। यसले प्लास्टिकको विकल्प प्रयोग गर्ने संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। वडा कार्यालयले आगामी दिनमा थप झोला वितरण गर्ने योजना समेत सार्वजनिक गरेको छ। स्थानीयले आफैंले पनि कपडाका झोला तयार गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिइएको छ।

वडाले प्लास्टिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सार्वजनिक स्थल, बजार क्षेत्र तथा भीडभाड हुने स्थानहरूमा डस्टबिन राख्ने तयारी गरेको जनाएको छ। यसबाट जथाभावी फोहोर फाल्ने प्रवृत्तिमा कमी आउनुका साथै फोहोरको उचित व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।
कार्यक्रमका वक्ताहरूले घोषणा गर्नु मात्र ठूलो उपलब्धि नभई यसको प्रभावकारी कार्यान्वयन अझ महत्त्वपूर्ण रहेको बताए। सबै नागरिक, व्यवसायी, विद्यालय, सरकारी तथा गैरसरकारी संस्थाले साझा जिम्मेवारीका रूपमा अभियानलाई सफल बनाउनुपर्ने उनीहरूको भनाइ थियो। नियम पालना नगरेमा अभियानको उद्देश्य पूरा हुन नसक्ने भएकाले सबै पक्षको सहयोग अपरिहार्य रहेको उनीहरूले उल्लेख गरे।
स्थानीयवासीले पनि वातावरण संरक्षणका लागि सुरु गरिएको अभियानको स्वागत गर्दै यसको दीर्घकालीन कार्यान्वयनमा आफूहरू प्रतिबद्ध रहने बताएका छन्। प्लास्टिकजन्य फोहोरका कारण नदी, खोला, खेतबारी तथा सार्वजनिक स्थानमा बढ्दो प्रदूषण नियन्त्रण गर्न यस्तो अभियान प्रभावकारी हुने उनीहरूको विश्वास छ।
वातावरणविद्हरूका अनुसार ४० माइक्रोनभन्दा पातलो प्लास्टिक सजिलै नष्ट नहुने, पुनः प्रयोग गर्न कठिन हुने तथा पशुपक्षी र मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने भएकाले यसको प्रयोग न्यूनीकरण आवश्यक छ। त्यसको विकल्पका रूपमा कपडाका, जुटका वा अन्य पुनः प्रयोग गर्न मिल्ने झोला प्रयोग गर्नुपर्ने सुझाव दिइँदै आएको छ।

वडा नम्बर १४ को यो घोषणा जिल्लाकै पहिलो भएकाले अन्य स्थानीय तह र वडाका लागि पनि प्रेरणादायी उदाहरण बनेको छ। आगामी दिनमा अन्य वडाले समेत यस्तै अभियान सञ्चालन गरी प्लास्टिक प्रदूषण नियन्त्रणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।
स्थानीय सरकारको पहलसँगै नागरिकको सचेत सहभागिता जोडिएमा सफा, स्वच्छ, हरित र वातावरणमैत्री समाज निर्माण गर्ने लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरिएको छ। अब घोषणा सफल बनाउने जिम्मेवारी वडा कार्यालय मात्र नभई सम्पूर्ण स्थानीयवासी, व्यवसायी र सरोकारवाला निकायको साझा दायित्व बनेको छ।
३१ असार २०८३, बुधबार १२:५५