सुनिता रखाल,चौतारा ।
आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसर पारेर चौतारा साँगाचोकगढी नगरपालिका–५ को आयोजनामा चौतारा पुस्तकको विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साहित्य, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नगरका जनप्रतिनिधि, साहित्यकार, बुद्धिजीवी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटा रहनुभएको थियो भने विशेष अतिथि उपप्रमुख सीता थापा रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले नेपाली भाषा र साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले भाषा, साहित्य र संस्कृतिको संरक्षणमा स्थानीय तहले निरन्तर प्राथमिकता दिँदै आएको उल्लेख गर्दै यस्ता साहित्यिक कृतिको प्रकाशनले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचान र इतिहाससँग जोड्ने विश्वास व्यक्त गर्नुभयो।

विशेष अतिथि उपप्रमुख सीता थापाले भानुभक्तको आदर्श, विचार र सिर्जनाले नेपाली समाजलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै साहित्यिक गतिविधिले समाजमा सकारात्मक चेतना फैलाउने बताउनुभयो। उहाँले स्थानीय लेखक तथा स्रष्टालाई प्रोत्साहन गर्न नगरपालिका सदैव प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

कार्यक्रममा विमोचन गरिएको ुचौताराु पुस्तकले चौतारा क्षेत्रको इतिहास, संस्कृति, सामाजिक जीवन, साहित्यिक गतिविधि तथा स्थानीय पहिचानलाई समेटेको बताइएको छ। वक्ताहरूले पुस्तक स्थानीय इतिहास र पहिचानको महत्वपूर्ण दस्तावेज बन्ने विश्वास व्यक्त गरेका थिए।
भानु जयन्तीको अवसरमा भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरिएको थियो। सहभागीहरूले नेपाली भाषा र साहित्यको संरक्षणमा सबैको साझा दायित्व रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले साहित्यप्रतिको आकर्षण बढाउने धारणा राखेका थिए।
कार्यक्रमको अन्त्यमा आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, साहित्यकार, सञ्चारकर्मी तथा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गरेका थिए। भानु जयन्तीलाई केवल औपचारिक रूपमा मनाउने नभई नेपाली भाषा, साहित्य र मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि प्रेरणा दिने अवसरका रूपमा लिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। पुस्तक विमोचनसँगै चौताराको साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको थियो।
३० असार २०८३, मंगलवार ११:२७