प्रहरीले ग¥यो १७ फरार प्रतिवादी पक्राउ दुई करोडभन्दा बढी राजस्व संकलन

सुनिता रखाल,चौतारा ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८२÷८३ को असार महिनामा सम्पादन गरेका प्रमुख गतिविधिबारे पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरेको छ। कार्यालयले फरार प्रतिवादी पक्राउदेखि समुदाय–प्रहरी साझेदारी, राजस्व संकलन, लागुऔषध नियन्त्रण र सवारी दुर्घटना अनुसन्धानसम्मका उपलब्धिहरू सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार असार महिनामा अदालतको फैसला कार्यान्वयनअन्तर्गत १७ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये विभिन्न मुद्दामा जम्मा १४ वर्ष ८ महिनाको कैद सजाय, ७ लाख १८ हजार १ सय ४५ रुपैयाँ जरिवाना तथा ८ लाख ८२ हजार रुपैयाँ बिगो असुल गर्न बाँकी रहेको थियो।

पक्राउ परेकामध्ये विस्फोटक पदार्थ सम्बन्धी मुद्दाका दुई प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन्। त्यस्तै ज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादी र बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक प्रतिवादीलाई समेत नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यसै अवधिमा जिल्लाका विभिन्न नाकाबाट २ करोड ९३ लाख ४ हजार ४ सय ७० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जानकारी दिएको छ। राजस्व संकलनमा चिनियाँ मदिरा, विद्युतीय सिगरेट (भेप), अन्य खाद्यान्न सामग्री तथा नदीजन्य उत्खननबाट उठेको राजस्व समावेश छ। प्रहरीले १९७ थान चिनियाँ मदिरा, ७ हजार ७ सय थान भेप, ५ हजार ४ सय ८३ थान विभिन्न खाद्यान्न सामग्री तथा नदीजन्य उत्खननमा प्रयोग भएका ६ वटा टिपर र १ वटा जेसीबी नियन्त्रणमा लिएको जनाएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत असार महिनाभर ९१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। लागुऔषध, साइबर अपराध, यौन हिंसा, विपद् व्यवस्थापन, घरेलु हिंसा, मानव बेचबिखन, नागरिक सुनुवाइ लगायतका विषयमा सञ्चालन गरिएका कार्यक्रमबाट २ हजार ४ सय ३ जना लाभान्वित भएका छन्।

प्रहरीले लामोसाँघु–जिरी सडकखण्डमा भएको सवारी ज्यान मुद्दामा फरार रहेका ट्रक र चालकलाई समेत पहिचान गरी नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनामा घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएपछि घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी बाह्रबिसे नगरपालिका–३ खुसानीबारी क्षेत्रमा सार्वजनिक सवारी चालकहरूको लागुऔषध परीक्षणका क्रममा दुई जना चालकले लागुऔषध सेवन गरी सवारी चलाएको पुष्टि भएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ भने जिल्ला अदालतले जनही १८ दिन कैद र २५ सय रुपैयाँ जरिवाना फैसला गरेको जानकारी दिइएको छ।

पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले शान्ति सुरक्षा कायम गर्न नागरिक, सञ्चारमाध्यम र स्थानीय तहसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। प्रहरीले अपराध नियन्त्रण, लागूऔषध दुव्र्यसन न्यूनीकरण, साइबर अपराध रोकथाम तथा समुदायमा कानुनी सचेतना अभिवृद्धिका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

३१ असार २०८३, बुधबार १६:३०