जनतापत्र सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०८२ /०८३ मा सञ्चालन भएका नीति, योजना तथा कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बिहीबार नगरपालिकाको सभाहलमा जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको सहभागितामा सम्पन्न भएको हो।

सार्वजनिक सुनुवाइमा आर्थिक वर्षभरि सञ्चालन गरिएका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक विकास तथा सेवा प्रवाहका गतिविधिबारे जानकारी प्रस्तुत गरिएको थियो। सहभागी नागरिकहरूले विकास आयोजना कार्यान्वयन, सेवा प्रवाहको गुणस्तर, बजेट खर्च, खानेपानी, सडक, कृषि तथा अन्य स्थानीय आवश्यकताका विषयमा जिज्ञासा, गुनासा र सुझाव राखेका थिए।
नगरपालिकाका जनप्रतिनिधिहरूले उठाइएका प्रश्नहरूको जवाफ दिँदै आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै नागरिकका सुझावलाई आगामी नीति तथा कार्यक्रम निर्माणमा समेटिने विश्वास दिलाइएको थियो।

सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेको नगरपालिकाले जनाएको छ।

३१ असार २०८३, बुधबार १२:३८