चौतारा — सिन्धुपाल्चोकका उद्योगी तथा व्यवसायीलाई करसम्बन्धी व्यवस्था र सरकारले उपलब्ध गराएका सहुलियतबारे जानकारी दिने उद्देश्यले चौतारामा करदाता शिक्षा कार्यक्रम आयोजना गरिएको छ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समन्वयमा आन्तरिक राजस्व कार्यालय धुलिखेलले कार्यक्रम सञ्चालन गरेको हो। चौतारा तथा आसपासका व्यवसायीलाई सहभागी गराएर आयोजित कार्यक्रममा आर्थिक ऐन २०८३ मा उल्लेख भएका करसम्बन्धी छुट तथा सुविधाका विषयमा जानकारी दिइएको थियो।
कार्यक्रममा निमित्त प्रमुख कर अधिकृत लक्ष्मण ढुंगानाले करसम्बन्धी नयाँ व्यवस्था र उपलब्ध सहुलियतबारे व्यवसायीलाई नियमित रूपमा जानकारी लिन आग्रह गरे। उनले पुस मसान्तसम्म उपलब्ध हुने सहुलियतबारे सम्बन्धित व्यवसायी तथा संघसंस्थाले आवश्यक सूचना लिनुपर्ने बताए।
कर प्रशिक्षक टीकाराम शर्माले पान दर्ता, राजस्व दाखिला, पान खारेजी तथा हालको कानुनी व्यवस्थाअनुसार पाइने कर छुटका विषयमा प्रशिक्षण दिएका थिए।
यस्तै, उद्योग वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बखरेलले सिन्धुपाल्चोकबाट सवारी चालक अनुमतिपत्र दर्ताबाहेक अन्य अधिकांश सेवा उपलब्ध गराउने गरी बागमती प्रदेश सरकारले संगठन तथा व्यवस्थापन (ओएनएम) संरचना तयार गरेको जानकारी दिए।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष उजारसिंह तामाङले कार्यक्रममा सहभागी व्यवसायीलाई धन्यवाद दिँदै स्थानीय बजारको खुद्रा बिक्री मूल्यलाई व्यवस्थित गर्न संघले समय–समयमा मूल्यसूची निर्धारण गर्दै आएको बताए। संघले तोकेको मूल्यभन्दा फरक मूल्य कायम गर्नुपर्ने अवस्था आएमा संघसँग आवश्यक समन्वय गर्न उनले व्यवसायीलाई आग्रह गरे।
संघका कार्यकारिणी समिति सदस्य कुमार थापाले सहजीकरण गरेको कार्यक्रममा सल्लाहकार रविन गौतमले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा चौतारा बहुमुखी क्याम्पसका पूर्वप्रमुख नगेन्द्रप्रसाद दंगाल, संघका कार्यालय प्रमुख ईश्वरीप्रसाद चालिसे, साना तथा मझौला व्यवसायी महासंघ सिन्धुपाल्चोकका अध्यक्ष हरिकुमार श्रेष्ठ, सिन्धुपाल्चोक फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठलगायत विभिन्न उद्योग तथा व्यावसायिक फर्मका प्रतिनिधिको सहभागिता थियो।
१६ आश्विन २०८३, शुक्रबार १५:५७