चौतारा साँगाचोकगढीमा ज्येष्ठ नागरिकलाई लौरोदेखि खाद्यान्नसम्म सहयोग

सिन्धुपाल्चोक — अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै सम्मान तथा सहयोगका कार्यक्रम सञ्चालन गरेको छ।

नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले वडा नम्बर ३ मा आयोजना गरेको कार्यक्रममा ७० जना ज्येष्ठ नागरिकलाई लौरो वितरण गरिएको छ। ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज होस् र दैनिक गतिविधिमा सहयोग पुगोस भन्ने उद्देश्यले लौरो उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्यसहित स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

यस्तै, वडा नम्बर १३ मा रहेका तीन जना ज्येष्ठ, अशक्त तथा एकल व्यक्तिको घरमै पुगेर खाद्यान्न सामग्री उपलब्ध गराइएको छ। उनीहरूलाई चामल, दाल, नुन, तेललगायत दैनिक आवश्यक पर्ने सामग्री वितरण गरिएको हो।

नगरपालिकाका अनुसार ज्येष्ठ नागरिक परिवार र समाजका अनुभव तथा ज्ञानका स्रोत हुन्। तर, सबै ज्येष्ठ नागरिकको जीवन सहज नभएकाले आर्थिक तथा सामाजिक रूपमा सहारा आवश्यक पर्ने व्यक्तिलाई स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने उद्देश्यले यस्ता कार्यक्रम गरिएको हो।

नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानलाई दिवसमा मात्रै सीमित नराखी उनीहरूको स्वास्थ्य, सुरक्षा, सामाजिक संरक्षण र सम्मानजनक जीवनयापनलाई निरन्तर प्राथमिकतामा राख्ने जनाएको छ।

१५ आश्विन २०८३, बिहीबार १३:२६