कपिलवस्तु — कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक आपसमा ठोक्किँदा बस चालकको ज्यान गएको छ भने बसमा रहेका ११ यात्रु घाइते भएका छन्।
शुक्रबार बिहान पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.६ ख ३३३३ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको बस एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ का सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।
बसमा सवार ११ जना यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ।
दुर्घटनापछि प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–२ का ट्रक चालक रुपेश धिमाललाई नियन्त्रणमा लिएको छ।
घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
१६ आश्विन २०८३, शुक्रबार १२:०९