सिन्धुपाल्चोकमा वार्षिक समीक्षा तथा असल अभ्यास आदान–प्रदान कार्यक्रम

सिन्धुपाल्चोक — जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाका विभिन्न सरकारी निकाय तथा स्थानीय तहबाट भएका कामको समीक्षा गर्दै असल अभ्यास आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद भरतप्रसाद पराजुलीले गरेका थिए। उनले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयलाई प्रभावकारी बनाउँदै विकास निर्माण तथा नागरिकलाई प्रदान गरिने सेवामा सुधार ल्याउनुपर्नेमा जोड दिए।

पराजुलीले विगतका योजनाको समीक्षा गरी देखिएका कमजोरी पहिचान गरेर आगामी दिनमा सुधार गर्दै जानुपर्ने बताए। तीन तहका सरकारबीच सहकार्य र अनुभव आदान–प्रदान बढाउन सके सार्वजनिक सेवा अझ सहज र प्रभावकारी बन्ने उनको भनाइ थियो।

कार्यक्रममा जिल्लास्थित संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका कार्यालयले गत आर्थिक वर्षमा गरेका गतिविधि, उपलब्धि, प्रगति तथा कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीबारे छलफल गरिएको थियो।

यस्तै, विभिन्न कार्यालय तथा स्थानीय तहले अपनाएका प्रभावकारी तथा अनुकरणीय अभ्यासबारे सहभागीबीच अनुभव साटासाट गरिएको थियो। सहभागीहरूले जिल्लाको विकास, सुशासन, पारदर्शिता र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारी निकायबीच नियमित समन्वय आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी, संघ तथा प्रदेश मातहतका कार्यालय प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतलगायत विभिन्न सरकारी निकायका प्रतिनिधिको सहभागिता थियो।

वार्षिक समीक्षा कार्यक्रमले गत वर्षको कार्यसम्पादनको मूल्यांकनसँगै आगामी दिनमा विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तीनै तहबीच सहकार्यको आधार तयार गरेको आयोजकले जनाएको छ।

४ भाद्र २०८३, बिहीबार २०:५८