सुनिता रखाल,चौतारा, ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जिल्लाभित्र क्रियाशील पत्रकारहरूसँग पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
मिति २०८३ जेठ २९ गते जिल्ला प्रहरी कार्यालयको सभाहलमा आयोजित कार्यक्रम कार्यालय प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यको संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा कार्यरत विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक जेसी शाहले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले चालु आर्थिक वर्ष २०८२र८३ मा सम्पादन गरेका प्रमुख प्रहरी गतिविधि, शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, अनुसन्धान तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था, अपराध न्यूनीकरण, सडक सुरक्षा, लागूऔषध नियन्त्रण तथा नागरिकसँगको प्रहरी सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। पत्रकारहरूले जिल्लाको सुरक्षा अवस्थासम्बन्धी जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए भने प्रहरी नेतृत्वले उठाइएका विषयमा आवश्यक जानकारी तथा धारणा राखेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक काजी कुमार आचार्यले शान्ति सुरक्षा कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रहरी र पत्रकारबीचको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले तथ्यपरक सूचना सम्प्रेषणमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारकर्मीहरूको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
प्रहरी र सञ्चार क्षेत्रबीच समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम सहभागितामूलक र फलदायी बनेको आयोजकले जनाएको छ
२ असार २०८३, मंगलवार १४:२५