सिन्धुपाल्चोकमा नेकपाको जनजागरण अभियान थालनी, १२ वटै पालिकामा पुग्ने तयारी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोकमा दुई महिना लामो ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ। जिल्ला सदरमुकाम चौतारास्थित सहिद स्मृति भवनमा बुधबार आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले अभियानको उद्घाटन गर्नुभएको हो।

पार्टीको केन्द्रीय नीतिअनुसार सञ्चालन हुन लागेको अभियानको उद्घाटन कार्यक्रममा केन्द्रीय तथा प्रदेश कमिटीका सदस्य, जिल्लास्तरीय नेता र विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा पार्टीको आगामी राजनीतिक कार्यदिशा र अभियानका उद्देश्यबारे छलफलसमेत गरिएको थियो।

उद्घाटन समारोहमा सापकोटाले ‘निरङ्कुशता र अराजकताको विरोध गरौँ’ तथा ‘राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ’ भन्ने नारालाई अघि सार्नुभयो। उहाँले मुलुक राजनीतिक र आर्थिक चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै जनतामाझ राजनीतिक चेतना विस्तार गर्न अभियान महत्त्वपूर्ण हुने बताउनुभयो।

पार्टीले राष्ट्रिय स्वाधीनता, जनअधिकारको संरक्षण र जनजीविकासँग जोडिएका विषयलाई अभियानका क्रममा प्राथमिकताका साथ उठाउने जनाएको छ।

पालिका र वडा तहमा जिम्मेवारी बाँडफाँड

संगठन विस्तार र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई समेत ध्यानमा राखेर अभियानलाई जिल्लाभर सञ्चालन गर्ने नेकपाको योजना छ। अभियानलाई प्रभावकारी बनाउन जिल्लाका केन्द्रीय सदस्यलाई पालिकास्तर र प्रदेश कमिटी सदस्यलाई वडास्तरको जिम्मेवारी दिइएको पार्टी स्रोतले जनाएको छ।

यसअघि पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले केन्द्रीय तहमा अभियानको उद्घाटन गरिसक्नुभएको थियो। अब सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा अभियान विस्तार गरिनेछ।

दुई महिनासम्म चल्ने अभियानका क्रममा पार्टीका नेता तथा कार्यकर्ता टोलटोलमा पुगेर नागरिकका गुनासा र सुझाव संकलन गर्ने, स्थानीय विकास निर्माणका कामको अनुगमन गर्ने, संगठन विस्तार गर्ने तथा पार्टी सदस्यता नवीकरणलाई तीव्रता दिने जनाइएको छ।

२१ कार्तिक २०८३, शुक्रबार ०९:५४