काठमाडौं, १८ कात्तिक २०८३।
गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी घटाउँदै जनतासँग मैत्रीपूर्ण व्यवहार गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिएका छन्। उनले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीलाई नागरिकको विश्वास जित्ने गरी काम गर्न आग्रह गरेका हुन्।
बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेपछि गृहमन्त्री गुरुङले प्रहरीको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका थिए।
उनले शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, विपद् व्यवस्थापन गर्ने र नागरिकलाई सेवा प्रदान गर्ने काममा प्रहरी सक्रिय तथा उत्तरदायी हुनुपर्नेमा जोड दिए।
गृहमन्त्री गुरुङले फिल्डमा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च राख्न पनि महानिरीक्षक केसीलाई निर्देशन दिएका छन्। प्रहरीलाई कार्यसम्पादनका क्रममा आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन सरकार तयार रहेको उल्लेख गर्दै उनले समस्या तथा कठिनाइ समाधान गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको बताएका थिए।
प्रहरी सङ्गठनलाई जनताप्रति उत्तरदायी, सेवामुखी र नागरिकमैत्री बनाउने उद्देश्यले गृहमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
१९ कार्तिक २०८३, बुधबार २०:३२