काठमाडौँ, कार्तिक २०।
धनसम्पत्ति, सुस्वास्थ्य, दीर्घायु र पारिवारिक समृद्धिको कामना गर्दै हिन्दु धर्मावलम्बीले आज धन्तेरस पर्व मनाउँदैछन्। तिहार अर्थात् दीपावलीको सुरुवाती पर्वका रूपमा लिइने धन्तेरसमा धनकी देवी लक्ष्मी, धनका देवता कुबेर र आयुर्वेद तथा स्वास्थ्यका देवता धन्वन्तरीको पूजा गर्ने धार्मिक परम्परा छ।
धनत्रयोदशीका नामले समेत चिनिने यो पर्व कात्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइन्छ। ‘धन’ ले सम्पत्ति र ‘तेरस’ ले त्रयोदशीलाई जनाउने धार्मिक मान्यता छ। समुद्र मन्थनका क्रममा भगवान् धन्वन्तरी अमृतको कलशसहित प्रकट भएको कथासँग यस पर्वको सम्बन्ध जोडिएको छ।
अध्ययता ज्योतिष शिवा पोखरेलका अनुसार धन्तेरसमा धनसम्पत्ति प्राप्तिको कामनासँगै परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको प्रार्थना गरिन्छ। लक्ष्मी र कुबेरको पूजा गरी घरमा आर्थिक स्थिरता तथा सुखसमृद्धि कायम होस् भन्ने कामना गर्ने चलन छ।
यस अवसरमा घर, आँगन र पूजाकोठा सफा गर्ने, ढोकामा फूल तथा रंगोलीले सजावट गर्ने र साँझ दीप प्रज्वलन गर्ने परम्परा छ। पूजामा फूल, अक्षता, धूप, दीप, फलफूल र मिठाइ चढाइन्छ। कतिपय परिवारले यमराजको नाममा घरबाहिर दियो बालेर परिवारका सदस्यको सुरक्षा र दीर्घायुको कामना गर्दै यमदीप दानसमेत गर्छन्।
सुनचाँदी खरिद गर्ने धार्मिक विश्वास
धन्तेरसमा सुन, चाँदी, तामा, पित्तललगायत धातुका सामग्री खरिद गर्ने चलन छ। नयाँ सामान घरमा भित्र्याउँदा धन र समृद्धि बढ्ने धार्मिक विश्वासका कारण यस दिन गरगहना, सिक्का तथा भाँडाकुँडा किन्ने गरिन्छ।
नेपाल राष्ट्र बैंकले पनि धन्तेरसलाई लक्षित गरी प्रत्येक वर्ष सरकारी दररेटमा सुन तथा चाँदीका सिक्का बिक्री गर्दै आएको छ। यस अवसरमा काठमाडौंलगायत विभिन्न सहरका सुनचाँदी र भाँडाकुँडा पसलमा विशेष सजावट गरिएको देखिन्छ।
तर पर्व मनाउन महँगो सामग्री नै किन्नुपर्छ भन्ने बाध्यता नरहेको ज्योतिष पोखरेल बताउँछन्। आफ्नो आर्थिक अवस्थाअनुसार सामान्य सामग्री खरिद गरेर वा पूजाआजा गरेर पनि पर्व मनाउन सकिने उहाँको भनाइ छ। धार्मिक आस्थाका नाममा ऋण लिएर वा क्षमताभन्दा बढी खर्च गर्नु उपयुक्त नहुने उहाँले सुझाव दिनुभएको छ।
काग तिहारसँगै यमपञ्चक सुरु
नेपालमा तिहारको पहिलो दिन काग तिहार मनाउने परम्परा छ। यस वर्ष काग तिहार शनिबार परेको छ। कागलाई यमराजको सन्देशवाहकका रूपमा मान्दै खानेकुरा दिएर पूजा गर्ने चलन छ। यसबाट शुभ समाचार प्राप्त हुने र परिवारमा सुखशान्ति कायम रहने धार्मिक विश्वास छ।
यमपञ्चक पाँच दिनसम्म मनाइने पर्व हो। यस अवधिमा काग, कुकुर, गाई, गोरु र दाजुभाइको पूजा गर्ने परम्परा छ। यसले मानिस, पशुपन्छी र प्रकृतिबीचको सम्बन्धलाई समेत झल्काउँछ।
काग तिहार: पहिलो दिन कागलाई यमराजको दूतका रूपमा सम्मान गर्दै खानेकुरा दिइन्छ। कागले शुभ समाचार ल्याउने धार्मिक विश्वासका आधारमा यसको पूजा गरिन्छ।
कुकुर तिहार: दोस्रो दिन कुकुरलाई माला लगाइदिने, निधारमा टीका लगाउने र मीठा खानेकुरा खुवाउने चलन छ। कुकुरलाई इमानदार साथी तथा यमराजको द्वारपालका रूपमा सम्मान गरिन्छ।
गाई तिहार र लक्ष्मी पूजा: तेस्रो दिन गाईलाई माला लगाएर पूजा गरिन्छ। साँझ घर, आँगन र झ्यालढोका उज्यालो पार्दै लक्ष्मीको आराधना गरिन्छ। घरमा धनधान्य, सुख र समृद्धि भित्रियोस् भन्ने कामना गरिन्छ। यस दिन देउसीभैलो खेल्ने परम्पराले पनि पर्वको रौनक बढाउँछ।
गोरु तिहार र म्हपूजा: चौथो दिन कृषि कार्यमा सहयोग गर्ने गोरुको पूजा गरिन्छ। नेवार समुदायले यसै दिन म्हपूजा गरेर आफ्नो शरीर, आत्मा र जीवनको कल्याण तथा दीर्घायुको कामना गर्छन्। नेपाल संवत्अनुसार नयाँ वर्ष पनि यसै दिन सुरु हुन्छ।
भाइटीका: यमपञ्चकको अन्तिम दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाएर सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर माया र सम्मान व्यक्त गर्छन्।
धार्मिक कथनअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई घरमा बोलाएर टीका लगाई पूजा गरेकी थिइन्। त्यसबाट प्रसन्न भएका यमराजले दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने परम्परासँग जोडिएको आशीर्वाद दिएको विश्वास गरिन्छ।
धार्मिक आस्थासँगै सांस्कृतिक पहिचानको पर्व
तिहारलाई पूजा र धार्मिक विधिमा मात्र सीमित पर्वका रूपमा नभई पारिवारिक आत्मीयता, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मान व्यक्त गर्ने अवसरका रूपमा पनि लिइन्छ। काग, कुकुर, गाई र गोरुको पूजा गर्ने परम्पराले मानव जीवनमा पशुपन्छीको योगदान र महत्त्वलाई सम्झाउँछ।
फूलमाला, दीपावली, सेलरोटी, देउसीभैलो र भाइटीकाले तिहारलाई नेपाली समाजको विशिष्ट सांस्कृतिक पहिचानसँग जोडेको छ। अन्धकारमाथि उज्यालो, निराशामाथि आशा र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा समेत तिहारलाई लिने गरिन्छ। यस पर्वले धनसम्पत्तिसँगै स्वास्थ्य, पारिवारिक सद्भाव र सामाजिक सहकार्यको महत्त्व पनि स्मरण गराउँछ।
२१ कार्तिक २०८३, शुक्रबार ०९:५६