प्रहरी नेतृत्व परिवर्तनको निर्णय सार्वजनिक गर्न नागरिक समूहको माग

काठमाडौं, १८ कात्तिक २०८३।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ जिम्मेवारी दिने सरकारको निर्णयप्रति नागरिक समूहले असन्तुष्टि जनाएको छ। समूहले प्रहरी सङ्गठनको नेतृत्व परिवर्तन गर्दा राजनीतिक स्वार्थभन्दा कानुनी प्रक्रिया र संस्थागत आवश्यकतालाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेको छ।

नागरिक समूहका अध्यक्ष विष्णु हरि दाहालले बुधबार जारी गरेको विज्ञप्तिमा प्रहरी नेतृत्व हेरफेर गर्नुको आधार र औचित्य स्पष्ट पार्न माग गरिएको छ। प्रहरी सङ्गठन कुनै प्रधानमन्त्री वा गृहमन्त्रीको निजी सम्पत्ति नभएको उल्लेख गर्दै समूहले यसलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने धारणा राखेको छ।

सरकार परिवर्तनसँगै सुरक्षा निकायको नेतृत्व पनि फेरबदल गर्ने प्रवृत्तिले लोकतान्त्रिक शासन व्यवस्थाको मान्यतामाथि प्रश्न उठाउने समूहको भनाइ छ। प्रहरी नेतृत्व चयन तथा जिम्मेवारी परिवर्तन कानुन, विधि र संस्थागत आवश्यकताका आधारमा हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

राजनीतिक हस्तक्षेपले प्रहरी कर्मचारीको मनोबल कमजोर पार्नुका साथै उनीहरूको व्यावसायिक भविष्य र अनुसन्धानको निष्पक्षतामा समेत असर पार्न सक्ने समूहले चेतावनी दिएको छ।

समूहले प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेर गर्दा अपनाइएको कानुनी तथा प्रशासनिक प्रक्रियाबारे नागरिकलाई जानकारी गराउन सरकारसँग माग गरेको छ।

साथै, प्रहरी सङ्गठनको व्यावसायिक स्वायत्तता कायम राख्न र राज्यका सुरक्षा निकायलाई राजनीतिक नेतृत्वको व्यक्तिगत इच्छाअनुसार सञ्चालन गर्ने अभ्यास रोक्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

१९ कार्तिक २०८३, बुधबार २०:४०