जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लामा अदालतको फैसलापछि लामो समयदेखि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहट घर भएका २० वर्षीय नौसाद आलम, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का ४७ वर्षीय कृष्णलाल श्रेष्ठ र अर्का एक जना (पहिचान खुलेको छैन) रहेका छन्।

नौसाद आलमलाई डाँका चोरी मुद्दामा जिल्ला अदालतले ४ वर्ष ११ महिना ७ दिन कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो। पहिचान नखुलेका व्यक्तिलाई अपहरण तथा बन्धक बनाएको मुद्दामा १० महिना ७ दिन कैद तोकिएको थियो भने कृष्णलाल श्रेष्ठलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा ५ हजार रुपैयाँ जरिवाना मात्रै फैसला भएको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरी टोलीले आज उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिन्धुपाल्चोकमा बुझाइएको प्रहरीले जनाएको छ।
५ बैशाख २०८३, शनिबार ०८:४६