समय आएपछि सबैको हिसाब हुन्छ’ भन्दै प्रधानमन्त्री शाहको चेतावनी

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले गलत काम गर्ने व्यक्तिहरूलाई कुनै पनि हालतमा उन्मुक्ति नमिल्ने संकेत गर्दै समय आएपछि सबैलाई जवाफदेही बनाइने बताएका छन्। उनले एक–दुई जना आफू कारबाहीबाट बच्न सक्ने भ्रममा नपर्न चेतावनीसमेत दिएका छन्।

आइतबार सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै चेतावनी दिएका हुन्। यद्यपि उनले आफ्नो भनाइ कुन व्यक्ति वा समूहप्रति लक्षित हो भन्नेबारे केही खुलाएका छैनन्।

पछिल्लो समय सर्वोच्च अदालतका न्यायाधीश र बिचौलियाबीच भएको संवाद सार्वजनिक भएपछि न्यायालयको कार्यसम्पादन र निष्पक्षतामाथि बहस सुरु भएको छ। सार्वजनिक भएको उक्त संवादले न्यायालयभित्रको सम्भावित अनियमितता र विकृतिबारे थप प्रश्न उठाएको छ।

यसै विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि न्यायालयमा देखिएका विकृति अन्त्य गर्न राजनीतिक तथा संसदीय पहल अघि बढाउने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले न्यायालय सुधारका लागि संसद्बाटै निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको थियो। साथै, यस विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउन आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने निर्णयसमेत गरेको थियो।

त्यस्तै, पत्रकार पक्राउ प्रकरणमा गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको पहिचान गरी तत्काल छानबिन गर्न र दोषी देखिए कडा कारबाही गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बैठकको निष्कर्ष थियो।

विवादित न्यायाधीशहरूमाथि महाभियोग लगाउने विषयमा पार्टीले राजनीतिक र कानुनी परामर्श गरिरहेका बेला प्रधानमन्त्री शाहको पछिल्लो अभिव्यक्ति आएको हो। रास्वपाको संसदीय दलका नेतासमेत रहेका शाहको यो भनाइलाई पछिल्लो न्यायिक विवाद र त्यससँग जोडिएका घटनाक्रमको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।

तर प्रधानमन्त्रीले आफ्नो सन्देशमार्फत कसलाई लक्षित गरेका हुन् भन्ने स्पष्ट नभएकाले उनको अभिव्यक्तिको वास्तविक आशयबारे भने थप स्पष्टता आउन बाँकी छ।

१६ कार्तिक २०८३, आईतवार २०:०४