जनतापत्र, सिन्धुपाल्चोक ।
जिल्ला निर्वाचन कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा मिति २०८३ असार ३ गते सिद्धि गणेश माध्यमिक विद्यालयमा मतदाता शिक्षा सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहजीकरणका क्रममा निर्वाचनको महत्व, मताधिकारको प्रयोग, लोकतान्त्रिक प्रक्रियामा नागरिकको भूमिका तथा जिम्मेवारी, निर्वाचन प्रणाली र मतदाता शिक्षाका विभिन्न पक्षबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमका प्रशिक्षकहरूले लोकतन्त्रको सुदृढीकरणका लागि सचेत र जिम्मेवार नागरिकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यार्थीहरूलाई भविष्यका मतदाताका रूपमा निर्वाचन सम्बन्धी ज्ञान हासिल गर्न प्रेरित गरेका थिए।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा लोकतान्त्रिक मूल्य, मान्यता तथा नागरिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। सहभागी विद्यार्थीहरूले समेत कार्यक्रमबाट निर्वाचन प्रक्रिया तथा मतदाताको अधिकार र कर्तव्यबारे उपयोगी जानकारी प्राप्त भएको बताएका थिए।

जिल्ला निर्वाचन कार्यालयले आगामी दिनमा पनि विद्यालय तथा समुदायस्तरमा यस्ता मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी निर्वाचनप्रति जनचेतना अभिवृद्धि गर्ने जनाएको छ।
३ असार २०८३, बुधबार १५:३५