सार्वजनिक जग्गा सम्बन्धी हल्लाप्रति गाउँपालिकाको ध्यानाकर्षण, त्रसित नहुन आग्रह


जनतापत्र सिन्धुपाल्चोक ।
सार्वजनिक जग्गा संरक्षणसम्बन्धी विषयलाई लिएर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा फैलिएको भ्रमपूर्ण सूचनाप्रति गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको एक सय बुँदे सार्वजनिक कार्ययोजनाको बुँदा नं. ९२ मा सार्वजनिक जग्गा संरक्षण लगायतका विषय समावेश गरिएको थियो। सोही कार्ययोजनाअनुसार मिति २०८३ वैशाख १७ गते सचिवस्तरको निर्णयमार्फत नेपाल सरकार मातहतका विभिन्न कार्यालयले स्थानीय तहहरूलाई आवश्यक पत्राचार गरेका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालय चौतारा, सिन्धुपाल्चोकबाट समेत २०८३ वैशाख २२ गते सम्बन्धित स्थानीय तहलाई परिपत्र गरिएको थियो।
उक्त परिपत्रका विषयमा गाउँपालिकाको २०८३ वैशाख ३० गते बसेको गाउँ कार्यपालिका बैठकमा छलफल भएको जनाइएको छ। बैठकमा गाउँपालिका भित्र रहेका सार्वजनिक जग्गाको लगत संकलन गर्ने, विवरण अद्यावधिक गर्ने तथा एकिन गर्ने विषयमा मात्र छलफल र निर्णय भएको गाउँपालिकाले स्पष्ट पारेको छ।
तर, सार्वजनिक जग्गामा बनेका घरटहरा तथा अन्य संरचना हटाउने, भत्काउने वा खाली गराउने सम्बन्धमा कुनै निर्णय नभएको गाउँपालिकाको भनाइ छ। गाउँपालिकाका अनुसार हालसम्म त्यस्तो कुनै सूचना जारी नगरिएको अवस्थामा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट गलत सूचना फैलिँदा सर्वसाधारणमा अनावश्यक त्रास र अन्योल सिर्जना भएको छ।
गाउँपालिकाले आधिकारिक निर्णय वा सूचना जारी नभएसम्म कुनै पनि हल्ला र भ्रममा नपर्न आम नागरिकलाई अनुरोध गरेको छ। साथै सार्वजनिक जग्गा व्यवस्थापन सम्बन्धी काम कानुनी प्रक्रिया र आवश्यक अध्ययनपछि मात्रै अघि बढाइने जनाएको छ।

३ जेष्ठ २०८३, आईतवार २०:१९