जनतापत्र, सिन्धुपाल्चोक । — सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको ३१औँ स्थापना दिवस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार : समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार” भन्ने मूल नारासहित आयोजना गरिएको दुईदिने कार्यक्रमले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र समुदायको अधिकारका विषयमा व्यापक बहस तथा अन्तरक्रियाको अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा आयोजित “सामुदायिक वनको विद्यमान सवाल र आगामी गन्तव्य” विषयक अन्तरक्रियामा वन क्षेत्रसँग सम्बन्धित विभिन्न चुनौती, अवसर तथा भावी रणनीतिबारे छलफल गरिएको थियो। सहभागीहरूले वन संरक्षण, जैविक विविधताको संवर्द्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको सक्रिय सहभागितामार्फत वन क्षेत्रलाई थप प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथि सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले सामुदायिक वन नेपालको सफल अभ्यासमध्ये एक भएको उल्लेख गर्दै वन संरक्षण र स्थानीय विकासबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले सामुदायिक वनहरूले वातावरणीय सन्तुलन कायम राख्नुका साथै स्थानीय समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको धारणा व्यक्त गर्नुभयो। वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकारको संरक्षणका लागि स्थानीय सरकार सधैँ सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरू, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, जनप्रतिनिधि, वन क्षेत्रका अभियन्ता तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामुदायिक वनको सुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्दै समुदायको अधिकार सुनिश्चित गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।
छलफलका क्रममा सामुदायिक वनले ग्रामीण अर्थतन्त्र सुदृढीकरण, रोजगार सिर्जना, प्राकृतिक स्रोतको संरक्षण तथा हरित अर्थतन्त्रको विकासमा पुर्याएको योगदानबारे समेत चर्चा गरिएको थियो। वन व्यवस्थापनमा महिला, दलित, आदिवासी जनजाति तथा अन्य सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ सिन्धुपाल्चोक र बागमती प्रदेश महासंघको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमले सामुदायिक वन अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमको समापनका अवसरमा सहभागीहरूले वन संरक्षण, समुदायको अधिकार र दिगो विकासका लक्ष्य हासिल गर्न साझा प्रतिबद्धता जनाएका थिए।
आयोजकका अनुसार स्थापना दिवसको अवसरमा भएका छलफल तथा अन्तरक्रियाबाट प्राप्त सुझावहरूलाई आगामी नीति, योजना तथा कार्यक्रम निर्माणमा उपयोग गरिनेछ। साथै सामुदायिक वनलाई हरित समृद्धि, वातावरणीय संरक्षण र स्थानीय विकासको आधारका रूपमा थप प्रभावकारी बनाउने दिशामा निरन्तर पहल गरिने जनाइएको छ।
१९ जेष्ठ २०८३, मंगलवार ०८:३९