सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका लागि ४ दिने पुनर्ताजगी तालिम सम्पन्न

जनतापत्र, सिन्धुपाल्चोक।
जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा तथा बाह्रबिसे नगरपालिकाको समन्वयमा सञ्चालित चार दिने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका ९ँऋज्ख्० पुनर्ताजगी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

बाह्रबिसे नगरपालिकाकी उपप्रमुख मञ्जु तामाङको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाहरूले पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरिएको थियो। कार्यक्रममा बोल्दै उपप्रमुख तामाङले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि, मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धन, खोप कार्यक्रम सञ्चालन तथा विभिन्न स्वास्थ्य सेवाको पहुँच विस्तारमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण रहेको बताइन्।

चार दिनसम्म सञ्चालन भएको तालिममा स्वयंसेविकाहरूलाई मातृ तथा नवजात शिशु स्वास्थ्य, पोषण, खोप सेवा, सरुवा तथा नसर्ने रोग नियन्त्रण, परिवार नियोजन, स्वास्थ्य परामर्श तथा समुदायमा स्वास्थ्य सन्देश प्रवाह गर्ने विषयमा पुनः अभिमुखीकरण गरिएको थियो। साथै स्वास्थ्य सेवामा समयानुकूल भएका परिवर्तन, नयाँ निर्देशिका तथा व्यवहारिक सीपका विषयमा समेत जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।

तालिमले स्वयंसेविकाहरूको ज्ञान, सीप र कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। सहभागी स्वयंसेविकाहरूले प्राप्त ज्ञानलाई समुदायमा प्रभावकारी रूपमा प्रयोग गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा तथा सचेतना विस्तारमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

२७ जेष्ठ २०८३, बुधबार १०:२२