सिन्धुपाल्चोक ।
समुदायस्तरमै उच्च रक्तचापको पहिचान, नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउने उद्देश्यले जुगल गाउँपालिकामा “समुदायमा आधारित उच्च रक्तचाप नियन्त्रण” सम्बन्धी अनुसन्धानमूलक कार्यक्रम सम्पन्न भएको छ। धुलिखेल अस्पतालसँगको सहकार्य तथा जुगल गाउँपालिकाको आयोजनामा मिति २०८३ श्रावण २५ र २६ गते कार्यक्रम सञ्चालन गरिएको हो।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, प्रशिक्षक तथा गाउँपालिकाअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य समुदायमै उच्च रक्तचाप भएका व्यक्तिको पहिचान गरी नियमित निगरानी, उपचारमा पहुँच र स्वास्थ्यसम्बन्धी व्यवहारमा सुधार ल्याउनु रहेको आयोजकले जनाएको छ। पछिल्लो समय उच्च रक्तचाप गैरसङ्क्रामक रोगका रूपमा बढ्दै गइरहेको अवस्थामा यसको समयमै पहिचान र नियन्त्रणका लागि समुदायस्तरबाटै प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने आवश्यकतालाई कार्यक्रमले प्राथमिकतामा राखेको छ।

कार्यक्रममा उच्च रक्तचापको जोखिम, पहिचान, रक्तचाप मापन गर्ने सही विधि, बिरामीको नियमित अनुगमन, औषधिको नियमित सेवन, जीवनशैलीमा गर्नुपर्ने सुधार तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो। स्वास्थ्यकर्मीलाई उच्च रक्तचापसम्बन्धी तथ्यांक संकलन, बिरामीको अवस्था अनुगमन तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्ने विषयमा समेत जानकारी दिइएको थियो।
धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रमलाई अनुसन्धानमूलक रूपमा अघि बढाइएकाले समुदायमा उच्च रक्तचापको अवस्था, जोखिममा रहेका व्यक्तिको पहिचान र उपचार तथा नियन्त्रणको प्रभावकारितासम्बन्धी तथ्यांक संकलनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्राप्त तथ्यांक र अनुभवका आधारमा आगामी दिनमा स्थानीय तहले उच्च रक्तचाप नियन्त्रणका लागि थप प्रभावकारी स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न सक्ने विश्वास गरिएको छ।
कार्यक्रममा स्वास्थ्यकर्मीहरूले समुदायमा रहेका नागरिकलाई नियमित रूपमा रक्तचाप जाँच गराउने, चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने तथा स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए। उच्च रक्तचाप धेरै अवस्थामा सुरुआती चरणमा स्पष्ट लक्षण नदेखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण महत्वपूर्ण हुने विषयमा समेत सहभागीहरूलाई सचेत गराइएको थियो।
त्यस्तै, उच्च रक्तचाप नियन्त्रणका लागि खानपानमा ध्यान दिने, नुनको अत्यधिक प्रयोग कम गर्ने, नियमित शारीरिक गतिविधि गर्ने, धूम्रपान तथा मद्यपानबाट टाढा रहने र तनाव व्यवस्थापन गर्ने जस्ता स्वस्थ व्यवहारलाई समुदायमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको थियो।
जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोले स्वास्थ्य क्षेत्र स्थानीय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताए। समुदायमा आधारित यस्ता कार्यक्रमले रोग लागिसकेपछि उपचार गर्ने मात्र नभई रोगको जोखिम पहिचान गरी समयमै नियन्त्रण गर्न सहयोग पु¥याउने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले प्राप्त ज्ञान र सीपलाई आ–आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दै समुदायसम्म स्वास्थ्य सचेतना तथा आवश्यक सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए। स्थानीय स्वास्थ्य संस्थालाई उच्च रक्तचाप नियन्त्रणका गतिविधिसँग जोड्दै नियमित अनुगमन र परामर्शलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमले जुगल गाउँपालिकामा उच्च रक्तचाप नियन्त्रणका लागि समुदाय, स्वास्थ्य संस्था र स्थानीय सरकारबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा आगामी दिनमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी रूपमा विस्तार गर्न सकिने विश्वास गरिएको छ।
स्थानीय तहमा बढ्दो गैरसङ्क्रामक रोगको चुनौतीलाई मध्यनजर गर्दै समुदायमै रोगको पहिचान, नियमित उपचार र स्वास्थ्य सचेतना विस्तार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको छ। जुगल गाउँपालिकामा सञ्चालन भएको यो कार्यक्रमले नागरिकको स्वास्थ्य अवस्थाबारे तथ्यमा आधारित जानकारी संकलनसँगै उच्च रक्तचाप नियन्त्रणको स्थानीय प्रयासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
२७ श्रावण २०८३, बुधबार १९:००