छठ पर्वको तयारीले मधेशमा बढायो चहलपहल, घर फर्किने क्रम तीव्र

कार्तिक २४, २०८३ | पर्सा

दसैं र दीपावलीको रौनक सकिएसँगै तराई–मधेशमा छठ पर्वको उत्साह छाउन थालेको छ। पर्व नजिकिँदै गर्दा वीरगन्जसहित विभिन्न स्थानमा छठ घाटको सरसफाइ, सजावट र व्यवस्थापनको काम तीव्र पारिएको छ। रोजगारी तथा अध्ययनका सिलसिलामा घरबाहिर रहेका मानिस पनि पर्व मनाउन आफ्नो गाउँघर फर्किन थालेका छन्।

दसैं, दीपावली र छठलाई करिब एक महिनाको अन्तरालमा भव्य रूपमा मनाउने मधेशको परम्परा छ। दुर्गा र लक्ष्मीको आराधनापछि अहिले मधेशवासी छठी माताको पूजाको तयारीमा जुटेका छन्। अधिकांश घरपरिवारले मनाउने भएकाले छठ तराई–मधेशको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित छ।

वीरगन्जका घडिअर्वा, मुर्ली, नगवालगायतका स्थानमा रहेका छठ घाटमा सरसफाइ र सजावट सुरु भइसकेको छ। घाटहरूलाई आकर्षक बनाउन पण्डाल निर्माण तथा विभिन्न सजावटका काम भइरहेका छन्। आफ्नो घाटलाई अरूभन्दा राम्रो बनाउने विषयमा विभिन्न समूहबीच अघोषित प्रतिस्पर्धासमेत हुने गरेको छ।

पर्वका लागि घर फर्किनेको संख्या बढेसँगै बजारमा पनि चहलपहल थपिएको छ। पूजामा आवश्यक पर्ने फलफूल, नरिवल, उखु, बाँसका सामग्री, नयाँ लत्ताकपडा तथा अन्य उपभोग्य वस्तुको किनमेल बढ्न थालेको छ। छठले परिवारका सदस्यलाई एकै ठाउँमा भेला गराउने अवसर दिनुका साथै स्थानीय बजार र आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने गरेको छ।

शुक्रबारदेखि छठको मुख्य विधि सुरु

वीरगन्ज महानगरपालिका–१३ तेजारथटोलकी व्रतालु मञ्जु देवीका अनुसार यस वर्ष शुक्रबारदेखि छठको मुख्य विधि सुरु हुनेछ। शुक्रबार नुहाएर चोखो खाना खाने ‘नहाखाय’ विधिबाट पर्वको सुरुवात गरिन्छ। यस दिन व्रतालुले विशेषगरी लौकाको तरकारी खाने चलन छ।

शनिबार ‘खरना’ विधि गरिन्छ। यस अवसरमा दूध र गुडबाट बनाइएको रस्या अर्थात् खिर तथा रोटी वा पुरी प्रसादका रूपमा ग्रहण गरिन्छ। त्यसपछि व्रतालुहरू आइतबार दिनभर निर्जल र निराहार व्रत बस्छन्।

आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई ‘सझियाघाट’ भनिन्छ। त्यसको भोलिपल्ट सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको मुख्य पूजा सम्पन्न हुन्छ। बाँसको सुपुलीमा नरिवललगायत पूजासामग्री राखेर सूर्यलाई अर्घ्य दिने परम्परा छ।

व्रतालु तथा परिवारका सदस्यहरू घरनजिकैका पोखरी, नदी र अन्य जलाशयमा बनाइएका छठ घाटमा भेला हुन्छन्। नयाँ लत्ताकपडामा सजिएका परिवारका सदस्यले बाँसबाट बनेका छैंटीमा पूजासामग्री राखेर घाटसम्म पुर्‍याउँछन्। त्यसपछि सामूहिक रूपमा अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरिन्छ।

स्वास्थ्य र मनोकामना पूरा हुने धार्मिक विश्वास

छठ व्रत बसे मनोकामना पूरा हुने धार्मिक विश्वास छ। विशेषगरी चर्मरोग निको हुने तथा सन्तान प्राप्तिको कामना गर्दै व्रत बस्ने चलन रहेको छ। सूर्यको उपासना गरिने यस पर्वमा नरिवल, अदुवा, उखु, विभिन्न फलफूल र ठेकुवा मुख्य प्रसादका रूपमा चढाइन्छन्। बाँसका सुपुली र छैंटीमा सजाइएका सामग्रीसहित व्रतालुले श्रद्धापूर्वक सूर्यको पूजा गर्छन्।

तराई–मधेशमा वर्षमा दुईपटक कात्तिकी र चैते छठ मनाउने परम्परा छ। यद्यपि सबैले दुवै पर्वमा व्रत बस्ने गर्दैनन्। कतिपयले कात्तिकी छठ मात्र मनाउँछन् भने केहीले दुवै अवसरमा व्रत लिने गर्छन्। भाकल पूरा भएपछि मात्र चैते छठ मनाउने चलन पनि रहेको छ।

सामाजिक अभियन्ता प्रकाश थारुका अनुसार छठले विभिन्न समुदायलाई एकै ठाउँमा जोड्दै सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न सहयोग पुर्‍याउँछ। सूर्यलाई ब्रह्माण्डको प्रमुख स्रोत र शक्तिका रूपमा आराधना गरिने यो पर्वको महत्व तराई–मधेशमा मात्र सीमित नरही देशभर फैलिँदै गएको उनको भनाइ छ।

धार्मिक आस्था र परम्परासँगै पारिवारिक पुनर्मिलन तथा सामाजिक एकताको सन्देश बोकेको छठ मधेशको मौलिक संस्कृति र पहिचानको महत्वपूर्ण हिस्सा बनेको छ।

२५ कार्तिक २०८३, मंगलवार १४:४३