थाङपाल भ्याली माविको डिजिटल अभियानलाई १९ लाखसम्म सहयोग जुट्ने अपेक्षा

सिन्धुपाल्चोक

पाँचपोखरी थाङपाल गाउँपालिका–४ स्थित थाङपाल भ्याली माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको डिजिटल विद्यालय निर्माण अभियानमा करिब १८ देखि १९ लाख रुपैयाँ सहयोग जुट्ने भएको छ।

विद्यालयले काठमाडौंमा आयोजना गरेको देउसीभैलो विशेष कार्यक्रममा विभिन्न क्षेत्रका शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि तथा सहयोगी व्यक्तिहरूले आर्थिक सहयोग गरेका छन्। कार्यक्रममा पाँचपोखरी, हेलम्बु, मेलम्ची, इन्द्रावती र बाह्रबिसेलगायत क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रधानाध्यापक राजु तामाङका अनुसार कार्यक्रममा केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेतृत्व, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, वडाध्यक्ष, पूर्व विद्यालय अध्यक्ष र वर्तमान विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको पनि उपस्थिति थियो। सहभागी दाताहरूले नगद सहयोगसँगै थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाका अनुसार ग्रामीण क्षेत्रका बालबालिकालाई आफ्नै गाउँमा आधुनिक र गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यसहित डिजिटल विद्यालय निर्माण अभियान सुरु गरिएको हो।

बागमती प्रदेशकै ठूला विद्यार्थी सङ्ख्या भएका विद्यालयमध्ये एक रहेको थाङपाल भ्याली माविमा हाल २४ वटा कक्षाकोठा छन्। ती सबै कक्षाकोठालाई क्रमशः स्मार्ट कक्षाकोठामा रूपान्तरण गर्न २४ वटा स्मार्ट बोर्ड आवश्यक रहेको विद्यालयले जनाएको छ। अभियानको पहिलो चरणमा चालु आर्थिक वर्षभित्र १० वटा स्मार्ट बोर्ड खरिद गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रमबाट अपेक्षाभन्दा उत्साहजनक सहयोग जुट्ने देखिएपछि विद्यालयले अभियानलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै दाताप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ। कार्यक्रमका लागि निःशुल्क हल उपलब्ध गराउने राकेश तथा सहभागी विद्यार्थीहरूको बसोबास र खानपानको व्यवस्थापनमा सहयोग गर्ने माकालबारी गुम्बा विकास समितिलाई पनि विद्यालयले विशेष धन्यवाद दिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सापकोटा र प्रधानाध्यापक तामाङले विद्यालयको विकास कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई समग्र समाजको साझा जिम्मेवारी भएको बताएका छन्। उनीहरूले अभियानलाई निरन्तरता दिँदै निर्धारित लक्ष्य पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

‘विद्यालय कसैको व्यक्तिगत सम्पत्ति होइन, यो सम्पूर्ण समाजको साझा भविष्य हो’ भन्ने सन्देशसहित अघि बढाइएको अभियानले ग्रामीण क्षेत्रमा प्रविधिमा आधारित शिक्षाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।

वडाका चारवटा विद्यालय गाभेर निर्माण गरिएको थाङपाल भ्याली माविको भवन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। प्रदेशकै नमुना विद्यालयका रूपमा रहेको यस विद्यालयले शिक्षक दरबन्दीको अभाव हुँदाहुँदै पनि गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध भएर राम्रो नतिजा हासिल गर्दै आएको प्रधानाध्यापक तामाङले बताए।

२५ कार्तिक २०८३, मंगलवार १४:५६