सुनिता रखाल, साँगाचोक ।
कमलको फूल महिला बहुउद्देश्यीय सहकारी संस्था, साँगाचोकको आयोजनामा तथा टेवाको सहयोगमा “सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलनको सुदृढीकरण” विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

“समावेशी र समतामूलक समाज सबैका लागि अपरिहार्य” भन्ने मूल सन्देशसहित आयोजित कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा महिला विकास निरीक्षक सुमित्रा भट्टराई, वडा सचिव रञ्जु साह, साँगाचोक प्रहरी चौकीका इन्चार्ज राजन अधिकारीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा टेवाकी कार्यक्रम अधिकृत सरस्वती म्यामले महिलावादी आन्दोलन, महिला अधिकार, सामुदायिक सुरक्षा जालो तथा सामाजिक रूपान्तरणका विषयमा धारणा राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण दीपक खत्रीले गर्नुभएको थियो।
सार्वजनिक सुनुवाइमा महिला अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय, समावेशी विकास तथा समुदायमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले समतामूलक समाज निर्माणका लागि महिला सशक्तीकरण, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

देशव्यापी महिलावादी अभियानलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा विस्तार गर्दै लैङ्गिक विभेद र असमानताको अन्त्यका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको वक्ताहरूले बताएका थिए। कार्यक्रमले महिला अधिकार प्रवर्द्धन र समावेशी समाज निर्माणको अभियानलाई थप बल पुर्याउने विश्वास व्यक्त गरिएको छ।
२७ जेष्ठ २०८३, बुधबार ०५:२७