रसुवामा भीषण बाढी : बजारदेखि प्रहरी कार्यालयसम्म क्षति, उद्धारका लागि हेलिकोप्टर परिचालन

भाद्र १०, २०८३

रसुवामा बुधबार बिहान तिब्बततर्फबाट आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति गरेको छ। भोटेकोशी नदीमा आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी, रसुवागढी, मैलुङ, बेत्रावतीलगायतका क्षेत्रका बस्ती, बजार तथा पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक विवरण छ।

बाढीका कारण केही व्यक्ति सम्पर्कविहीन भएका छन् भने प्रहरी कार्यालय तथा चौकीसमेत प्रभावित भएका छन्। टिमुरेमा खटिएका सशस्त्र प्रहरीका ९ कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन्। त्यहाँको प्रहरी कार्यालय तथा स्याफ्रुबेँसी र रसुवागढीका प्रहरी चौकीमा समेत क्षति पुगेको बताइएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय उद्धार तथा खोजीमा परिचालन भएका छन्। नेपाली सेनाका चार तथा निजी क्षेत्रका आठ गरी १२ हेलिकोप्टरमार्फत स्याफ्रुबेँसी, मैलुङ र धुन्चेबाट १२ जनाको हवाई उद्धार गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा थप उद्धारका लागि ३५ जना सशस्त्र प्रहरीसहित सात हेलिकोप्टर परिचालन गर्ने तयारी गरिएको छ। सरकारले निजी क्षेत्रका हेलिकोप्टरसहित सबै उपलब्ध हेलिकोप्टरलाई उद्धारका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

५० पर्यटक सम्पर्कविहीन

बाढीपछि कैलाश मानसरोवर यात्राका लागि रसुवाको सीमा क्षेत्रमा पुगेका करिब ५० जना पर्यटक सम्पर्कविहीन भएको जनाइएको छ। उनीहरूमा भारतीय मूलका अमेरिकी तथा क्यानडेली नागरिकसहित नेपाली यात्रु पनि रहेको बताइएको छ।

उनीहरूसँग मंगलबारदेखि सम्पर्क टुटेको सम्बन्धित ट्राभल कम्पनीले जनाएको छ। उनीहरूको अवस्थाबारे खोजी भइरहेको छ।

टिमुरे र आसपासका बजारमा ठूलो क्षति

गोसाइकुण्ड गाउँपालिका–६ का वडा सदस्य विजय लामाका अनुसार भोटेकोशी तथा नदी किनारका धेरै बजार र बस्तीमा ठूलो क्षति पुगेको छ। स्याफ्रुबेँसी, टिमुरे लगायतका बजार क्षेत्रमा भौतिक संरचना बगाएको र सडक तथा सञ्चार पूर्वाधारमा समेत क्षति पुगेको उनले बताएका छन्।

उत्तरगया गाउँपालिकाका दुईवटा प्रशासनिक भवनमा समेत क्षति पुगेको छ। भोटेकोशी किनारका करिब दर्जन बस्ती प्रभावित भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

नुवाकोटतर्फ पनि बाढीको प्रभाव देखिएको छ। वेत्रावती र सोले बजारमा ठूलो क्षति भएको तथा केही संरचना बगेको स्थानीयले बताएका छन्। धादिङबेंसी जाने फुर्केखोला–परेवाटार जोड्ने पक्की पुलसमेत बाढीले बगाएको छ।

उद्धारमा कठिनाइ

टिमुरे पुगेको एउटा हेलिकोप्टर बाढीका कारण हेलिप्याड नै बगाएकाले अवतरण गर्न नसकी काठमाडौं फर्किएको थियो। त्यस क्षेत्रमा जमिनबाट उद्धार गर्नसमेत कठिनाइ रहेको बताइएको छ।

बाढीको प्रभावका कारण कतिपय ठाउँमा सञ्चार सम्पर्क विच्छेद भएको छ। क्षतिको पूर्ण विवरण संकलन गर्नसमेत कठिनाइ भइरहेको सुरक्षा निकायले जनाएको छ।

सरकारले परिचालन गर्‍यो सुरक्षा संयन्त्र

प्रधानमन्त्रीको निर्देशनपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उद्धार तथा खोजीमा परिचालन गरिएको छ। मेडिकल टोलीसहित सेनाका हेलिकोप्टर प्रभावित क्षेत्रमा पठाइएको छ।

गृह मन्त्रालयमा सुरक्षा निकायसहितको आपत्कालीन बैठक बसेको छ भने प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट थप उद्धार तथा राहतका विषयमा निर्णय गर्ने तयारी गरिएको छ।

जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रशासनलाई निर्देशन दिइएको छ।

त्रिशूली नदी किनारमा उच्च सतर्कता

बाढीको बहाव त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा समेत पुग्न सक्ने भन्दै धादिङ, गोरखा, नुवाकोटलगायतका जिल्लाका प्रशासन तथा स्थानीय तहले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीको बाढी धादिङको गल्छी आसपास पुगेको जानकारी दिँदै त्रिशूली नदी आसपासका बस्ती तथा बजार खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरेको छ। पृथ्वी राजमार्ग, पासाङल्हामु राजमार्ग तथा अन्य जोखिमयुक्त सडकमा सार्वजनिक सवारी सञ्चालनमा समेत रोक लगाइएको छ।

दक्ष स्वयंसेवक परिचालन गर्न पर्वतारोहण संघको अपिल

नेपाल पर्वतारोहण संघले बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि दक्ष पर्वतारोही, क्यानोनिङ तथा ¥याफ्टिङ गाइड, प्राविधिक उद्धारकर्मी र साहसिक पर्यटन क्षेत्रमा काम गरेका जनशक्तिलाई स्वयंसेवकका रूपमा उपलब्ध हुन आग्रह गरेको छ।

तर स्वयंसेवकले सरकारी तथा सुरक्षा निकायसँग समन्वय नगरी आफैं जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेर उद्धार गर्न नहुने संघले स्पष्ट पारेको छ।

बाढीको कारण अझै स्पष्ट छैन

अचानक आएको बाढीको वास्तविक कारणबारे अझै यकिन हुन सकेको छैन। प्रारम्भिक मौसम अध्ययनअनुसार रसुवामा ठूलो वर्षा भएर मात्रै बाढी आएको देखिएको छैन। तिब्बततर्फ तथा सिन्धुपाल्चोक क्षेत्रमा ठूलो वर्षा भएको हुन सक्ने मौसमविद्को प्रारम्भिक अनुमान छ।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ र तनहुँलगायतका जिल्लामा नदीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

उद्धार र खोजी जारी रहेकाले रसुवासहित तल्लो तटीय क्षेत्रमा थप क्षतिको विवरण आउन बाँकी छ।

१० भाद्र २०८३, बुधबार १३:३२