रसुवामा आकस्मिक बाढीले बजार र बस्ती प्रभावित, त्रिशूली किनारमा सतर्कता

रसुवा । रसुवामा बुधबार बिहान अचानक आएको ठूलो बाढीले स्याप्रुबेसीसहित आसपासका बजार तथा बस्ती प्रभावित भएका छन्। छोटो समयमै आएको बाढीले घर, पसल तथा अन्य संरचनामा क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। बाढीको कारणसमेत अहिलेसम्म स्पष्ट भइसकेको छैन।

उनका अनुसार सदरमुकाम आसपास भने वर्षा भएको छैन। माथिल्लो क्षेत्रमा हिमताल फुटेको वा अन्य कुनै कारणले अचानक पानीको ठूलो बहाव आएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप विवरण संकलन गर्न स्थानीय तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ।

त्रिशूलीमा बहाव बढ्न सक्ने भन्दै धादिङमा सतर्कता

रसुवामा आएको आकस्मिक बाढीका कारण त्रिशूली नदीमा समेत पानीको सतह र बहाव बढ्न सक्ने भन्दै धादिङ प्रशासनले नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ।

धादिङ प्रशासनले नदीमा माछा मार्ने, बालुवा–ढुंगा संकलन गर्ने वा अन्य कामका लागि गएका व्यक्ति तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। नदी किनार तथा आसपास बसोबास गर्ने सर्वसाधारणलाई पनि आवश्यक सतर्कता अपनाउन भनिएको छ।

त्यसैगरी नदी किनारमा सञ्चालित तथा निर्माणाधीन आयोजना, कार्यालय र अन्य संरचनालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी गर्न प्रशासनले अनुरोध गरेको छ।

उद्धार तथा क्षतिको विवरण संकलन जारी

बाढीबाट प्रभावित क्षेत्रमा स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिले अवस्थाबारे जानकारी संकलन गरिरहेका छन्। बाढीको वास्तविक कारण र क्षतिको पूर्ण विवरण भने स्थलगत निरीक्षण तथा खोजीपछि मात्रै स्पष्ट हुने बताइएको छ।

प्रशासनले सम्भावित विपद्का घटना भए तत्काल स्थानीय जनप्रतिनिधि वा नजिकको सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेको छ। आपत्कालीन अवस्थामा नेपाल प्रहरी १००सशस्त्र प्रहरी १११४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

१० भाद्र २०८३, बुधबार १०:०६