१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नुवाकोट र धादिङमा गरी ७ जनाको शव फेला परेको छ।
बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोटको नदी किनारबाट ३ जना र धादिङबाट ४ जनाको शव फेला परेको हो।
बाढी प्रभावित क्षेत्रमा घाइतेको उद्धार, शव संकलन तथा बेपत्ताको खोजीलाई प्रहरीले तीव्र बनाएको छ। बाढीपछि अझै केही व्यक्ति सम्पर्कविहीन रहेको सूचना आएकाले उनीहरूको खोजी भइरहेको रेग्मीले जानकारी दिए।
अचानक आएको बाढीले रसुवासहित नुवाकोट र धादिङका नदी किनारका बस्ती तथा बजारमा ठूलो क्षति पुर्याएको छ। उद्धार टोलीले जोखिमका बीच प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेको छ।
१० भाद्र २०८३, बुधबार १३:४०