समाजवादको ब्याख्यामा नेताहरूको बुझाइ फरक परेको सापकोटाको भनाई


जनतापत्र, इन्द्रावति ।
संविधानमा लिखित “समाजवाद” को बुझाइमा एकरुपता नभएकै कारण नेपालमा अस्थिरता उत्पन्न भएको
नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा “सुबोध”ले बताउनुभएको छ ।

उहाँले माओवादी पार्टीको ईन्द्रावती गाउँपालिका समितिले मंगलबार पालिकाको ज्यामिरेमानेमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गर्दै सो कुरा बताउनुभएको हो ।
सापकोटाले दलका नेताहरूबिच समाजवादमा पुग्ने बाटो बारेको बुझाइमा परेको फरकले अस्थिरता कायम रहेको जानकारी दिनुभयो ।

माओवादीले सामाजिक न्यायको सिद्धान्तमा आधारित रहेर समाजवादको बाटोमा जान चाहेको तर काङ्ग्रेस एमालेको बुझाइ फरक रहेको उहाँको भनाइ रहेको छ ।
काङ्ग्रेस पुजीवादमा केन्द्रीत रहेको र एमालेसंग ब्यवहार नमिलेको भन्दै सापकोटाले स्थिरताका लागि दलहरूले समाजवाद बारे खुलेर बहस गर्न आवश्यक रहेको जानकारी दिनुभयो ।
नेपालको संविधान २०७२ को प्रस्तावनामा ” जनताको प्रतिस्पधात्मक वहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजबादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने” उल्लेख छ ।
संविधानमा उल्लेखित समावेशी समानुपातिक प्रतिनिधत्वको सिद्धान्तलाई बाधकका रुपमा नबुझ्न सरकारलाई शुभकामना आदानप्रदान कार्यक्रममा माओवादी केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभाले सुझाव समेत दिनुभयो । उहाँले महिला, दलित, आदिवासी, जनजाति, अल्पसंख्यकका लागि अवसर सृजना गरेको बताउनुभयो । त्यस्तै माओवादीका केन्द्रीय सदस्य चन्द्रबहादुर थापा किशोरले अहिले सुशासनका लागि संयुक्त खबरदारी आवश्यक रहेको जनाए ।
माओवादीका सिन्धुपाल्चोकको जिल्ला समन्वय समिति संयोजक गोबिन्द पराजुलीले आपसी सद्भाव र घुलमिलका लागि चियापान राखिएको जानकारी दिए ।

१३ कार्तिक २०८१, मंगलवार १३:०१