लगातार वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल रद्द

काठमाडौं, १४ कात्तिक २०८३। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शनिबार लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको खेल वर्षाका कारण रद्द भएको छ। लगातारको वर्षाले मैदान खेल्न योग्य नभएपछि टससमेत हुन नसकी खेल स्थगित गरिएको हो।

दिउँसो १२ः३० बजे सुरु हुने तालिका रहेको खेलका लागि मैदानमा आवश्यक तयारी हुन सकेन। बिहीबार रातिदेखि नै निरन्तर वर्षा भइरहेकाले खेल मैदान त्रिपालले ढाकिएको अवस्थामा थियो।

एनपीएलको इतिहासमा वर्षाका कारण खेल हुन नसकेको यो पहिलो घटना हो। प्रतियोगितामा वैकल्पिक दिन (रिजर्भ डे) को व्यवस्था नभएकाले दुवै टोलीले एक–एक अंक बाँडेका छन्।

यसअघि लुम्बिनी लायन्स र चितवन राइनोज दुवैले आफ्नो पहिलो खेलमा जित निकालेका थिए। साविक विजेता लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो भने चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको थियो।

शनिबार साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच अर्को खेल हुने तालिका रहे पनि वर्षा नरोकिएकाले उक्त खेलसमेत प्रभावित हुने सम्भावना रहेको छ। उक्त खेलका लागि निर्धारित कटअफ समय साँझ ७ः४१ बजे रहेको छ।

१५ कार्तिक २०८३, शनिबार १४:५३