समाचारकक्षबाट पत्रकार पक्राउ गर्ने कार्य रोक्न महासंघको माग, राज्य आतंकको संज्ञा

काठमाडौं, १३ कात्तिक। नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमका समाचारकक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ। महासंघले यस्तो गतिविधिले संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनी मान्यताको उल्लंघन गरेको जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले समाचारकक्षबाटै पत्रकारलाई पक्राउ गर्ने घटनालाई ‘राज्य आतंक’ को संज्ञा दिनुभएको छ। उहाँले सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेर पत्रकारलाई नियन्त्रणमा लिने कार्यले स्वतन्त्र पत्रकारितामाथि त्रास सिर्जना गरेको बताउनुभयो।

दाहालले यस्तो गतिविधि तत्काल बन्द गर्न सरकारलाई आग्रह गर्दै यसले निरन्तरता पाए महासंघ विरोधमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिनुभएको छ।

शुक्रबार नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नयाँबानेश्वरस्थित कार्यालयको समाचारकक्षबाट नियन्त्रणमा लिएको थियो।

त्यस्तै, नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि टेकुस्थित अपराध अनुसन्धान कार्यालयबाट आएको भन्दै पाँच जना सादा पोसाकका प्रहरी पुगेका थिए। नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार प्रहरीले संवाददाता नवराज मैनालीलाई साइबर ब्युरो लैजानुपर्ने भन्दै खोजी गरेको थियो।

यसैगरी, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई पनि प्रहरीले शुक्रबार दिउँसो नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ।

एकै दिन विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुग्ने र पत्रकारलाई नियन्त्रणमा लिने घटनाप्रति पत्रकार महासंघले गम्भीर चासो व्यक्त गरेको छ। महासंघले प्रेस स्वतन्त्रता र पत्रकारको निर्भयपूर्वक काम गर्न पाउने अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

१४ कार्तिक २०८३, शुक्रबार १९:२६