वर्षासँगै आएको बाढीपहिरोले देशभरका १२ भन्दा बढी सडकमा यातायात ठप्प

लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। पहिरो खस्ने, खोल्सामा आएको बाढीले सडक कटान गर्ने तथा नदीको बहाव बढ्ने क्रम जारी रहेपछि पृथ्वी राजमार्गसहित १२ भन्दा बढी सडकखण्डमा आवागमन रोकिएको छ।

धादिङको गजुरी गाउँपालिका–२ पारेवाभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्गको दुवैतर्फको यातायात पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, काभ्रेको रोशी गाउँपालिकाका पिन्थली र गिम्दीबेसी क्षेत्रमा बाढीले ढुंगा, माटो तथा अन्य सामग्री बगाएर सडकमा थुपारेपछि बीपी राजमार्ग पनि अवरुद्ध बनेको छ।

सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्गमा सवारी आवागमन रोकिएको छ। खोटाङ क्षेत्रमा मध्यपहाडी राजमार्गसमेत प्रभावित भएको छ।

यसैगरी, बागमती नदीको बहाव बढ्दा बल्खु र सुन्दरीघाट आसपासका सडकमा समस्या देखिएको छ। कान्ति लोकपथमा पनि नदीको पानीको सतह बढेपछि यातायात सञ्चालन प्रभावित भएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोरसमेत बन्द भएको छ।

वर्षा जारी रहेकाले थप स्थानमा पहिरो खस्ने र सडक अवरुद्ध हुन सक्ने जोखिम छ। त्यसैले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

१५ कार्तिक २०८३, शनिबार १५:००