ताप्लेजुङ, १४ कात्तिक २०८३
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा लगातार वर्षा र हिमपात भएपछि कञ्चनजङ्घा क्षेत्रको पर्यटन गतिविधि प्रभावित भएको छ। पर्यटकको आवागमन बढ्ने मुख्य सिजनमै मौसम प्रतिकूल बनेपछि पदयात्रा, होटल व्यवसाय र स्थानीय रोजगारीमा असर परेको छ।
सामान्यतया यस समयमा कञ्चनजङ्घा क्षेत्रका होटल तथा पदमार्गमा आन्तरिक र विदेशी पर्यटकको चहलपहल बढ्ने गर्छ। तर, लगातार परेको पानी र हिउँका कारण पदमार्ग ढाकिएका छन्। बाटो चिप्लो र जोखिमपूर्ण बनेपछि पर्यटकलाई यात्रा गर्न कठिन भएको छ।
लोनार्क, घुन्सा र खम्बाचेनजस्ता पर्यटकीय बस्तीमा यतिबेला होटल व्यवसायी, गाइड र भरियालाई पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने समय हो। तर, हिमपातका कारण पर्यटकको आवागमन घट्ने भएपछि उनीहरूको आम्दानीमा असर पर्ने चिन्ता बढेको छ।
स्थानीय होटल व्यवसायी तेन्जिङ सेराप शेर्पाका अनुसार हिमपातले पदमार्ग अवरुद्ध हुँदा पर्यटकको यात्रा प्रभावित भएको छ। कञ्चनजङ्घा क्षेत्रका धेरै स्थानीयको जीविकोपार्जन पर्यटनमा निर्भर रहेकाले मुख्य सिजनमै मौसम प्रतिकूल हुँदा व्यवसायी समस्यामा परेका छन्।
लोनार्क आसपासका घ्याङ पिक, धिमी गिल्ला, १५ पिक, नेपाल पिक, ट्विन्स पिक, किरात चुली, पाथीभरा पिक र जनकचुलीलगायत हिमाल हिउँले ढाकिएका छन्। हिमाली दृश्य आकर्षक देखिए पनि लगातारको हिमपात र मौसमको अनिश्चितताका कारण पदयात्रा सहज नभएको व्यवसायीहरूको भनाइ छ।
हिमाली क्षेत्रमा रहेका २५० पर्यटक सुरक्षित
प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा यात्रा गरिरहेका पर्यटकको सुरक्षाबारे पनि चासो बढेको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार जिल्लामा आएका करिब २५० जना पर्यटक सुरक्षित अवस्थामा छन्।
कञ्चनजङ्घा आधार शिविर र सिङ्जेमा ताल हुँदै तिब्बत नाकातर्फ भ्रमणमा गएका २५० जनाभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक विभिन्न होटल र स्थानीय बासिन्दाका घरमा सुरक्षित रूपमा बसिरहेको उनले जानकारी दिए।
मौसममा सुधार नआएसम्म जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न सुरक्षा निकाय, स्थानीय तह र स्थानीय बासिन्दामार्फत सूचना प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए। पर्यटक तथा यात्रुलाई मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
कञ्चनजङ्घा क्षेत्रको पर्यटन व्यवसाय मुख्यतः मौसमी आम्दानीमा निर्भर छ। त्यसैले पर्यटक आउने मुख्य समयमा भएको हिमपातले होटल, पदयात्रा सेवा र स्थानीय रोजगारीमा असर पार्ने देखिएको छ। मौसम अनुकूल भएपछि पर्यटकको चहलपहल पुनः बढ्ने आशामा स्थानीय व्यवसायी रहेका छन्।
१५ कार्तिक २०८३, शनिबार १५:१६