काठमाडौं, १४ कात्तिक २०८३। समाचारको स्रोत पत्ता लगाउने भन्दै विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति चौतर्फी आलोचना भइरहेका बेला पक्राउ परेका पत्रकारहरूले आफूहरूलाई समाचारका विषयमा केरकार गरेर त्रसित पार्न खोजिएको बताएका छन्।
शुक्रबार अपराह्न सादा पोसाकमा पुगेका प्रहरीले नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका सम्पादक शोभराज बराल र डीएनए खबरका प्रधानसम्पादक धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो। त्यस्तै, नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरीले कार्यालयमा करिब तीन घण्टासम्म प्रयास गरेको थियो।
प्रहरीले समाचारको स्रोत खोज्ने उद्देश्यले सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाको विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ। पत्रकारलाई नियन्त्रणमा लिनुको वास्तविक कारणबारे प्रहरीले स्पष्ट जानकारी नदिएको समाचारमा उल्लेख छ।
यसैबीच, नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरीको आधिकारिक ह्वाट्सएपमार्फत केही सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको जानकारी दिएका थिए। उनका अनुसार प्रधानमन्त्री कार्यालयबाट आएको चासोका आधारमा केही समाचार तथा प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिने उद्देश्यले पत्रकारलाई बोलाइएको थियो।
तर, कार्यालयबाटै नियन्त्रणमा लिइएका पत्रकारहरूले आफूहरूसँग प्रकाशित समाचारका विषयमा प्रश्न गर्दै दबाब सिर्जना गरिएको बताएका छन्।
कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा पत्रकार धीरज बस्नेत र विश्वमणि सुवेदीले समाचारबारे गरिएको सोधपुछले आफूहरूलाई त्रसित पार्ने प्रयास भएको अनुभव सुनाएका छन्।
समाचारको विषयमा पत्रकारमाथि भएको प्रहरी व्यवहार र समाचार स्रोतको गोपनीयताको प्रश्नले अहिले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी बहसलाई थप तीव्र बनाएको छ।
१५ कार्तिक २०८३, शनिबार १४:५७