सहयोगापेक्षी सडक आश्रीत मानव मुक्त चौतरा साँगाचोकगढी नगरपालिका घोषणा अभियान अन्तरगत चौताराबाट ४ जनाको उद्धार


सुनिता रखाल चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाले सहयोगापेक्षी सडक आश्रीत मानव मुक्त चौतरा साँगाचोकगढी नगरपालिका घोषणा अभियान अन्तरगत चौताराबाट ४ जनाको उद्धार गरीएको छ ।

सहयोगापेक्षी सडक आश्रीत मानव मुक्त चौतरा साँगाचोकगढी नगरपालिका घोषणा अभियानलाई निरन्तरता दिँदै आज चौतारा बजार तथा आसपासका क्षेत्रबाट चार जना सडक आश्रित व्यक्तिको उद्धार गरेको हो । नगर उपप्रमुख सीता थापाको समन्वयमा मानव सेवा आश्रम भक्तपुरसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय सञ्चारकर्मी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

नगरपालिकाले सडकमा कष्टकर जीवन बिताइरहेका असहाय, बेवारिसे तथा मानसिक समस्याका कारण सडकमा पुग्न बाध्य भएका व्यक्तिहरूलाई सुरक्षित आश्रय, उपचार तथा पुनःस्थापनाको उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ। अभियानअन्तर्गत उद्धार गरिएका चारै जनालाई आवश्यक प्रारम्भिक स्वास्थ्य परीक्षणपछि मानव सेवा आश्रम भक्तपुरमा सुरक्षित रूपमा पठाइएको छ।

उद्धार अभियानका क्रममा सहभागी निकायहरूले सडकमा रहेका व्यक्तिहरूको अवस्था पहिचान गर्दै उनीहरूलाई सम्मानपूर्वक आश्रयस्थलसम्म पुर्‍याउने कार्य गरेका थिए। अभियानमा सहभागी अधिकारीहरूले सडकमा बस्न बाध्य भएका नागरिकलाई समाजको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने र उनीहरूको संरक्षण तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी निकायबीच समन्वय आवश्यक रहेको बताएका थिए।

मानव सेवा आश्रमका प्रतिनिधिहरूले उद्धार गरिएका व्यक्तिहरूलाई आश्रममा आवास, भोजन, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श तथा पारिवारिक पुनर्मिलनका लागि आवश्यक पहल गरिने जानकारी दिएका छन्। आश्रमले देशका विभिन्न स्थानमा सडक आश्रित तथा असहाय व्यक्तिहरूको संरक्षण गर्दै आएको छ।

नगरपालिकाले आगामी दिनमा पनि सडक मानवमुक्त नगरपालिका बनाउने अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ। साथै, स्थानीयवासीलाई आफ्नो वरपर सडकमा अलपत्र अवस्थामा रहेका असहाय व्यक्तिको जानकारी सम्बन्धित निकायलाई उपलब्ध गराई मानवीय सेवामा सहयोग गर्न आग्रह गरिएको छ।

यस अभियानले असहाय नागरिकको संरक्षण मात्र नभई सभ्य, सुरक्षित र मानवीय समाज निर्माणतर्फ महत्वपूर्ण सन्देश दिएको सहभागीहरूको भनाइ छ। स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, सञ्चारमाध्यम तथा सामाजिक संस्थाहरूको संयुक्त प्रयासबाट यस्ता अभियानलाई निरन्तरता दिँदै सडकमा बस्न बाध्य भएका नागरिकलाई सम्मानजनक जीवनतर्फ फर्काउने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।

२४ असार २०८३, बुधबार २१:२६