काठमाडौं । सडक निर्माणमा प्रयोग हुने सवारीसाधनलाई काम गर्न नदिने भन्दै ४० हजार रुपैयाँ घुस लिएको अभियोग लागेका सशस्त्र प्रहरीका एक निरीक्षकलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतले मंगलबार गरेको फैसलामा ती निरीक्षकलाई भ्रष्टाचारसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो।
धनुषाको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस नक्टाझिजमा कार्यरत रहँदा उनले कमला–ढल्केवर–बागमती सडक निर्माण आयोजनामा प्रयोग हुने सवारीसाधनलाई विभिन्न कारण देखाउँदै रोक्ने गरेको आरोप लागेको थियो।
माटो तथा ग्राभेल फिलिङका लागि प्रयोग हुने गाडीलाई फिल्डमा सामग्री झार्न नदिने र काममा अवरोध पुर्याउने भन्दै रकम मागेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो।
उजुरीपछि अख्तियारको टोलीले २०८२ चैत २० गते धनुषाको मिथिला नगरपालिका–१०, लालगढबाट उनलाई ४० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धान पूरा भएपछि अख्तियारले २०८३ वैशाख २९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
मुद्दाको सुनुवाइ विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा भएको थियो। इजलासले अभियोग पुष्टि भएको ठहर गर्दै उनलाई दोषी करार गरेको हो।
अब अदालतले कानुनअनुसार दोषी ठहर भएका निरीक्षकको सजाय निर्धारण गर्ने प्रक्रिया अघि बढाउनेछ।
७ आश्विन २०८३, बुधबार १३:२४