दशैंको अग्रिम टिकट बुकिङलाई निरन्तरता, यात्रुको विवरणसहित चलानी अनिवार्य

काठमाडौं । दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन १५ बुँदे निर्णय गरेको छ। यातायात व्यवस्था विभागले चाडपर्वका लागि अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने निर्णय गर्दै टिकट बिक्रीदेखि सडक सुरक्षा र चालकको स्वास्थ्य परीक्षणसम्मका विषयमा व्यवसायी तथा सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

यद्यपि अग्रिम टिकट बुकिङ कुन मितिदेखि सुरु गर्ने भन्ने विषयमा भने विभागले अहिलेसम्म निश्चित मिति तोकेको छैन।

टिकटमा यात्रुको परिचय खुलाउनुपर्ने

विभागले सार्वजनिक यातायात व्यवसायीलाई सम्भव भएसम्म अनलाइनमार्फत टिकट बुकिङको व्यवस्था मिलाउन भनेको छ। सवारी सञ्चालन गर्दा यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी अनिवार्य रूपमा राख्नुपर्नेछ।

टिकट बिक्री गर्ने कर्मचारीलाई संस्थागत परिचयपत्र उपलब्ध गराउनुपर्ने र परिचयपत्र वा तोकिएको पोशाकबिनाका व्यक्तिबाट टिकट बिक्री गर्न नदिन विभागले निर्देशन दिएको छ।

अनधिकृत टिकट काउन्टर सञ्चालन तथा अनधिकृत व्यक्तिबाट टिकट बिक्री हुने अवस्थालाई समेत नियन्त्रण गर्न भनिएको छ।

यात्रुले आधिकारिक काउन्टरबाट मात्रै टिकट लिनुपर्ने

विभागले सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुलाई अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। यात्रुले आधिकारिक काउन्टर वा परिचयपत्रसहितका कर्मचारीबाट टिकट लिनुपर्नेछ।

चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले उपत्यकाबाट बाहिरिने तथा उपत्यकामा भित्रिने सार्वजनिक सवारीको निगरानी बढाउन यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेल्वे कम्पनीलगायतका निकायबीच समन्वय गरिने भएको छ।

सडकको अवस्था सुधार्न निर्देशन

चाडपर्वमा लामो दूरीका सवारीसाधनको संख्या बढ्ने भएकाले मुख्य राजमार्ग तथा सडकको नियमित निरीक्षण र आवश्यक मर्मत गर्न सम्बन्धित निकायलाई भनिएको छ।

सम्भावित पहिरो नियन्त्रण, सडक अवरोध तथा जाम व्यवस्थापनमा विशेष ध्यान दिन र सडकको अवस्थाबारे यात्रुलाई समयमै जानकारी गराउन सडक विभागसँग समन्वय गर्न भनिएको छ।

आवश्यक परे थप सार्वजनिक सवारीसाधनको व्यवस्था गर्न यातायात व्यवसायीलाई पनि विभागले निर्देशन दिएको छ।

मापसे र लापसे परीक्षण कडा बनाइने

चाडपर्वको समयमा सडक दुर्घटना न्यूनीकरण गर्न चालकको स्वास्थ्य तथा नशा सेवनसम्बन्धी परीक्षणमा कडाइ गरिने भएको छ।

उपत्यकाका प्रमुख प्रवेश तथा बाहिरिने नाकासहित देशका विभिन्न स्थानमा मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकको परीक्षण गर्न विभागले निर्देशन दिएको छ।

कुनै चालक मापसे वा लापसे गरेको अवस्थामा भेटिए सम्बन्धित यातायात व्यवसायीले तत्काल वैकल्पिक चालकको व्यवस्था गर्नुपर्नेछ।

लामो दूरीका बसमा दुई चालक

लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनमा कम्तीमा दुई जना चालक राख्नुपर्ने व्यवस्था गरिएको छ। चालकले आलोपालो गरेर सवारी चलाउनुपर्नेछ।

गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सवारीको यान्त्रिक अवस्था, सुरक्षा तथा अन्य आवश्यक पक्षको जाँच गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यी मापदण्ड पालना भए–नभएको सम्बन्धित निकायले अनुगमन गर्नेछ।

खाना–खाजाको स्थानमा पनि ध्यान

लामो दूरीका यात्रुलाई खाना तथा खाजा खुवाउने क्रममा भीडभाड नहुने गरी तोकिएको स्थानमा मात्र व्यवस्था मिलाउन चालक तथा यातायात कर्मचारीलाई निर्देशन दिइएको छ।

यसका साथै चाडपर्वका लागि आवश्यक रुट परमिट, अग्रिम टिकट बुकिङ र ठूला सवारीसाधनको आवागमनसम्बन्धी विषयमा व्यवसायी तथा अन्य सरोकारवालासँग थप छलफल गरिने विभागले जनाएको छ।

बालबालिकालाई काममा नलगाउन निर्देशन

विभागले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई चालक वा अन्य काममा नलगाउन यातायात व्यवसायीलाई स्पष्ट निर्देशन दिएको छ।

चाडपर्वमा यात्रुको चापसँगै सडक दुर्घटनाको जोखिम पनि बढ्न सक्ने भएकाले टिकट बिक्री, सवारीको अवस्था, चालकको स्वास्थ्य, सडकको स्थिति र यातायात सञ्चालन सबै पक्षमा निगरानी बढाउन विभागले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

७ आश्विन २०८३, बुधबार १२:५४