काठमाडौंमा इन्द्रजात्रा सुरु, हनुमानढोकामा इन्द्रध्वजोत्थान

काठमाडौं । काठमाडौंको प्रसिद्ध सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ।

हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव परिसरमा आज बिहान ७:४७ बजेको शुभसाइतमा लिंगो ठड्याएर इन्द्रध्वजोत्थान गरिएसँगै यस वर्षको इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको हो।

इन्द्रध्वजोत्थानपछि काठमाडौं उपत्यकामा इन्द्रजात्रासँग सम्बन्धित विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सुरु भएका छन्। जात्राका क्रममा हनुमानढोका दरबार क्षेत्र आसपास विभिन्न परम्परागत पूजा, रथयात्रा तथा सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन्।

इन्द्रजात्रा काठमाडौंको महत्वपूर्ण मौलिक पर्वका रूपमा मनाइँदै आएको छ। विशेषगरी कुमारी, गणेश र भैरवको रथयात्रा तथा विभिन्न सांस्कृतिक नाचगान र परम्परागत विधि यस पर्वका प्रमुख आकर्षण हुन्।

७ आश्विन २०८३, बुधबार १३:०२