वीरगन्जको एक क्यासिनोमा नेपाली नागरिक जुवा खेलिरहेको अवस्थामा भेटिएपछि प्रहरीले गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित आठजनालाई नियन्त्रणमा लिएको छ।
पर्सा प्रहरीले दिएको जानकारीअनुसार भदौ १२ गते राति करिब साढे १० बजे वीरगन्ज महानगरपालिका–१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली क्यासिनो पुगेको थियो।
प्रहरीले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा चारजनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय गाउँपालिका अध्यक्ष जसवन्त यादव, वीरगन्ज–११ का ३० वर्षीय चन्दन सहनी, सोही स्थानका ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जाको हरिनास गाउँपालिका–९ का ३६ वर्षीय प्रहरी निरीक्षक प्रदीप पौडेल छन्।
यादव नेकपा एमालेबाट निर्वाचित सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष हुन्। प्रहरीका अनुसार पौडेल इलाका प्रहरी कार्यालय पोखरियामा प्रहरी निरीक्षकका रूपमा कार्यरत छन्।
यसैगरी नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउन सहयोग गरेको आरोपमा वीरगन्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगन्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगन्ज–१२ का ५० वर्षीय प्रदेशी साहलाई पनि नियन्त्रणमा लिइएको छ।
घटनास्थलबाट प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाको सरकारी सवारीसाधनसमेत नियन्त्रणमा लिएको छ। क्यासिनो परिसरमा भेटिएको ना.१झ १६८७ नम्बरको स्कार्पियो प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका सबैमाथि घटनाको विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।
२१ भाद्र २०८३, आईतवार १४:२४