वीरगन्जका छठघाटमा भक्तजनको घुइँचो, अस्ताउँदो सूर्यलाई चढाइयो अर्घ्य

पर्सा, २९ कात्तिक। सूर्यदेवको उपासनासँग जोडिएको छठ पर्वअन्तर्गत आइतबार वीरगन्जमा विशेष पूजा सम्पन्न भएको छ। पर्वको मुख्य दिन ‘सझिया घाट’मा व्रतालुहरूले दिनभर उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन्।

घडिअर्वा पोखरी, मुर्ली, नगवा, रानीघाट, छपकैया, राधेमाई र स्विमिङ पुललगायतका स्थानमा छठ मनाउन ठूलो संख्यामा भक्तजन भेला भएका थिए। पूजाका लागि तयार पारिएका घाटहरू बत्ती र विभिन्न रङका सजावटले आकर्षक देखिएका थिए।

व्रतालुहरू बाँसका सुपली र ढकनीमा नरिवल, उखु, केरा, ठेकुवा तथा अन्य फलफूल राखेर घाट पुगेका थिए। छठी माताको भजन गाउँदै उनीहरूले अस्ताउँदो सूर्यको पूजा गरे। मनोकामना पूरा भएपछि भाकलअनुसार केही भक्तजन घरदेखि घाटसम्म दण्ड प्रणाम गर्दै पुगेका थिए।

परिवारको कल्याण, सन्तानको दीर्घायु र सुख–समृद्धिको कामनासहित छठ मनाउने गरिएको व्रतालु मञ्जु देवीले बताइन्। उनका अनुसार यो पर्व धार्मिक आस्थामा मात्र सीमित नभई सामाजिक मेलमिलाप र प्रकृतिप्रतिको सम्मानसँग पनि जोडिएको छ।

साँझको पूजा सकेर व्रतालुहरू घर फर्किएका छन्। उनीहरूले परम्पराअनुसार कोशी पूजा गर्नेछन्। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि प्रसाद ग्रहण गरी चार दिनदेखि चलिरहेको छठ पर्वको विधि पूरा हुनेछ।

इतिहासकार विजयकिशोर पाण्डेका अनुसार तराई क्षेत्रमा कात्तिकी र चैती गरी वर्षमा दुईपटक छठ मनाइन्छ। कात्तिकी छठलाई भने विशेष महत्त्वका साथ मनाउने परम्परा रहेको छ।

३० कार्तिक २०८३, आईतवार २०:०८