चौतारा — आठौँ विश्व कराते च्याम्पियनसिपका लागि छनोट भएको नेपाली टोलीमा सिन्धुपाल्चोकका दुई खेलाडी परेका छन्। प्रेवल गुरुङ र सन्ध्या श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन्।
गुरुङले ४३ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् भने सन्ध्याले ४७ केजीभन्दा माथिको तौल समूहमा आफ्नो खेल प्रस्तुत गर्नेछिन्। नेपाली टोलीसँगै प्रशिक्षकका रूपमा निराजन थापा मगर पनि सहभागी हुने भएका छन्।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाने खेलाडी र प्रशिक्षकलाई चौतारा साँगाचोकगढी नगरपालिकाले एक कार्यक्रम आयोजना गरी बिदाइ तथा शुभकामना दिएको छ।
नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा, सामाजिक विकास समितिका संयोजक रामप्रसाद गौतमलगायत जनप्रतिनिधिको उपस्थिति थियो। उनीहरूले खेलाडी तथा प्रशिक्षकलाई प्रतियोगितामा राम्रो प्रदर्शनका लागि शुभकामना दिँदै आवश्यक हौसला प्रदान गरे।
स्थानीय तहबाट खेलाडीलाई दिइने प्रोत्साहन र सहयोगले जिल्लाको खेलकुद गतिविधिलाई थप अघि बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
सिन्धुपाल्चोकका दुई खेलाडीले विश्वस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनु जिल्लाको खेलकुद क्षेत्रका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। दुवै खेलाडीले मेहनत, अनुशासन र खेलकौशलमार्फत देश तथा जिल्लाको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेका छन्।
१४ आश्विन २०८३, बुधबार १०:०२