विद्यालय स्तरीय पोषण प्रदर्शनी कार्यक्रम सम्पन्न


जनतापत्र सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका–९, जितपुरस्थित जितपुर शहरी स्वास्थ्य केन्द्रको आयोजनामा विद्यालय स्तरीय पोषण सम्बन्धी प्रदर्शनी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।


विद्यार्थीहरूमा पोषणसम्बन्धी ज्ञान, सचेतना तथा स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले पोषणयुक्त खाद्य पदार्थ, स्थानीय स्तरमा उपलब्ध पौष्टिक खानेकुरा तथा सन्तुलित आहारसम्बन्धी विभिन्न सामग्रीहरू प्रदर्शनीमार्फत प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले पोषणको महत्व, स्वस्थ खानपानका बानी तथा कुपोषण न्यूनीकरणका उपायबारे जानकारी प्रस्तुत गरेका थिए। प्रदर्शनीले विद्यार्थीहरूमा सिर्जनशीलता विकास गर्नुका साथै पोषणप्रति सकारात्मक सोच अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।


कार्यक्रम सफल बनाउन विशेष योगदान पु¥याउनुहुने जितपुर शहरी स्वास्थ्य केन्द्रका गौरीशंकर शाह, विद्यालयका शिक्षक–शिक्षिका तथा सक्रिय सहभागिता जनाउने सम्पूर्ण विद्यार्थीहरूप्रति आयोजकले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
स्वास्थ्य केन्द्रले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थी, अभिभावक र समुदायमा पोषणसम्बन्धी सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेको छ।

२८ जेष्ठ २०८३, बिहीबार १०:४६