सुनिता रखाल,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक सहित देशका विभिन्न जिल्लाका सामुदायिक तथा सरकारी विद्यालयमा सुरक्षित खानेपानी पहुँच विस्तार गर्दै आएको ग्राविटी वाटरले हालसम्म १३७ विद्यालयमा वर्षा पानी संकलन तथा आधुनिक फिल्ट्रेसन प्रणाली जडान गरी हजारौं विद्यार्थीलाई लाभान्वित बनाएको जनाएको छ।

संस्थाका अनुसार उक्त परियोजनाबाट हालसम्म ६८ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा सुरक्षित पिउने पानीको पहुँचमा पुगेका छन्।
२०७७ सालमा समाज कल्याण परिषद्मा दर्ता भई स्थापना भएको संस्थाले विद्यालय केन्द्रित सुरक्षित खानेपानी अभियान सञ्चालन गर्दै आएको छ। विशेषगरी वर्षायाममा खेर जाने आकाशे पानी संकलन गरी आधुनिक प्रविधिबाट प्रशोधन गरेर विद्यालयमा सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले संस्था सक्रिय रहेको जनाएको छ। साथै विद्यालयमा उपलब्ध नियमित पानीका स्रोतलाई समेत फिल्ट्रेसन प्रणालीमार्फत शुद्धीकरण गरी विद्यार्थी तथा विद्यालय समुदायलाई वितरण गरिँदै आएको छ।

संस्थाका अनुसार काभ्रेपलाञ्चोक जिल्लाका १२ वटा नगरपालिकाभित्रका १०७ विद्यालय, भक्तपुर जिल्लाका २ विद्यालय, काठमाडौं जिल्लाका १५ विद्यालय, रामेछाप जिल्लाको १ विद्यालय तथा सिन्धुपाल्चोक जिल्लाका १६ विद्यालयमा परियोजना सफलतापूर्वक सम्पन्न भइसकेको छ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढि नगरपालिका अन्तर्गत श्री चण्डेश्वरी माध्यमिक विद्यालय, श्री रामदेवी माध्यमिक विद्यालय, श्री ईर्खु माध्यमिक विद्यालय, श्री ज्ञान मन्दिर नमुना माध्यमिक विद्यालय, श्री बनदेवी माध्यमिक विद्यालय, श्री सिद्धी गणेश माध्यमिक विद्यालय, श्री कालिदेवी माध्यमिक विद्यालय, श्री सेतीदेवी माध्यमिक विद्यालय स्याउले, श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालय, श्री डडुवा भवानी शंकर माध्यमिक विद्यालय, श्री गोल्मादेवी माध्यमिक विद्यालय, श्री कालिदेवी माध्यमिक विद्यालय कदमवास, श्री जन जागृति माध्यमिक विद्यालय, श्री समाज विकास माध्यमिक विद्यालय, श्री कुण्डला देवी माध्यमिक विद्यालय तथा श्री इन्द्रावती माध्यमिक विद्यालयमा सुरक्षित खानेपानी प्रणाली जडान गरिसकिएको संस्थाले जनाएको छ।

विद्यालयहरूमा विशेषगरी वर्षायाममा पानी धमिलो आउने, बाढी तथा पहिरोका कारण पानीका पाइपलाइन क्षतिग्रस्त हुने र असुरक्षित पानीका कारण विद्यार्थीहरू पानीजन्य रोगबाट प्रभावित हुने समस्या देखिँदै आएको थियो। सुरक्षित खानेपानीको अभावले विद्यार्थीको स्वास्थ्यमा असर पुग्नुका साथै विद्यालय उपस्थितिदरमा समेत नकारात्मक प्रभाव पर्ने गरेको विद्यालयहरूले बताएका छन्।

संस्थाले जडान गरेको आधुनिक प्रणालीपछि विद्यार्थी बिरामी पर्ने समस्या न्यूनीकरण हुनुका साथै विद्यालयमा सरसफाइ व्यवस्थापन र नियमित पठनपाठनमा समेत सकारात्मक सुधार आएको जनाइएको छ। संस्थाले चौतारा साँगाचोकगढी नगरपालिकाभित्र उपयुक्त विद्यालयहरूमा परियोजना सम्पन्न गरिसकेको र अब पानीको अभाव रहेका अन्य स्थानीय तहलाई प्राथमिकतामा राख्दै इन्द्रावती गाउँपालिका तथा सुनकोशी गाउँपालिकामा समेत कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको जनाएको छ। इन्द्रावती गाउँपालिकाबाट कार्यक्रम सञ्चालनका लागि स्वीकृति पत्रसमेत प्राप्त भइसकेको संस्थाले जानकारी दिएको छ ।
८ जेष्ठ २०८३, शुक्रबार १४:४४