काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन सुरु गरेको छ। आवश्यक कानुनी व्यवस्था र प्रविधिको तयारीबारे छुट्टाछुट्टै समितिले काम अघि बढाएका छन्।
सर्वोच्च अदालतले २०७४ सालमै विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सरकार र आयोगलाई निर्देश दिएको थियो। तर कानुनी तथा प्राविधिक तयारी नहुँदा अहिलेसम्म यो व्यवस्था लागू हुन सकेको छैन।
आयोगले विदेशमा रहेका नेपालीका लागि मतदाता नामावली, मतदान केन्द्र, मतदानको विधि तथा सुरक्षालगायत विषय अध्ययन गरिरहेको छ। यसका लागि आयुक्त गुरुप्रसाद वाग्लेको नेतृत्वमा कानुनी र राजीव सुब्बाको नेतृत्वमा सूचना प्रविधिसम्बन्धी समिति गठन गरिएको छ।
नेपाल बाहिर ९० भन्दा बढी मुलुकमा नेपाली नागरिक रहेकाले सबै देशमा एकैपटक मतदान व्यवस्था गर्न चुनौती देखिएको छ। त्यसैले सुरुवातमा सम्भव हुने केही मुलुक छनोट गरी मतदान गराउने विकल्पबारे पनि अध्ययन भइरहेको छ।
आयोगका अनुसार आवश्यक तयारी भए आगामी प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिने सम्भावना छ।
६ भाद्र २०८३, शनिबार ११:२८