काठमाडौँ — चालु वर्षको वैशाखदेखि भदौ ५ गतेसम्म देशभर ५ हजार १४ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा २५० जनाको मृत्यु, ८ जना बेपत्ता र १ हजार ६०७ जना घाइते भएका छन्।
विपद्का कारण यस अवधिमा ६ हजार २७२ परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै आगलागीका १ हजार १३६ घटना दर्ता भएका छन्।
त्यसपछि पहिरोका १ हजार ११, सर्पदंशका १ हजार १०, हावाहुरीका ४८०, भारी वर्षाका ३२०, बाढीका २७३ र चट्याङका २४५ घटना भएका छन्।
त्यस्तै, जनावरको आक्रमणका २७२, वन डढेलोका १९१, लेक लाग्ने ५९, भूकम्पका चार, असिनाका चार तथा हिमपहिरोका दुई घटना पनि अभिलेखमा छन्। डुङ्गा पल्टिने र विस्फोटनका एक–एक घटना समेत भएका छन्।
प्राधिकरणको पछिल्लो विवरणअनुसार भदौ ४ देखि ५ गते बिहानसम्म मात्रै ३३ वटा विपद्का घटना भएका थिए। ती घटनामा एक जनाको मृत्यु, एक जना बेपत्ता र २३ जना घाइते भएका छन् भने १४५ जना प्रभावित भएका छन्।
६ भाद्र २०८३, शनिबार १९:४५