काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले फोहोर बोकेर आएका गाडी करिब एक घण्टा रोकेर आन्दोलन सुरु गरेका छन्। फोहोर व्यवस्थापन वैज्ञानिक र व्यवस्थित ढंगले नभएको तथा विगतका सहमति कार्यान्वयन नभएको भन्दै उनीहरूले सरकारलाई १५ दिनको समयसीमा दिएका छन्।
स्थानीयका अनुसार फोहोरबाट निस्कने लिच्चेड खोलामा मिसिन थालेको छ भने दुर्गन्ध र प्रदूषणका कारण स्वास्थ्यमा समेत असर परेको छ। उनीहरूले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, लिच्चेडको उचित व्यवस्थापन, स्वास्थ्य तथा शिक्षामा विशेष सुविधा र रोजगारीको व्यवस्था गर्न माग गरेका छन्।
माग सम्बोधन नभए १५ दिनपछि बञ्चरेडाँडामा फोहोर विसर्जन नै रोक्ने स्थानीयको चेतावनी छ। हाल काठमाडौं उपत्यकासहित २१ पालिकाको फोहोर सिसडोल हुँदै बञ्चरेडाँडा पुर्याइँदै आएको छ।
स्थानीयको दाबीअनुसार फोहोरका कारण दुर्गन्ध, पानी प्रदूषण, स्वास्थ्य समस्या र कृषि तथा पशुपालनमा समेत नकारात्मक असर परेको छ।
६ भाद्र २०८३, शनिबार १०:२९