सुनिता रखाल चौतारा ।
सरकारले तीनै तहका सरकारी विज्ञापनहरू केवल सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरेपछि त्यसको विरोधमा पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्। उक्त निर्णयले प्रेस स्वतन्त्रता र खुला बजारको सिद्धान्तलाई असर गर्ने भन्दै पत्रकार महासंघले देशभर दबाबमूलक कार्यक्रम अघि सारेको हो।

यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ को सिन्धुपाल्चोक शाखाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ। शाखाका अध्यक्ष ध्रुव दंगाल का अनुसार स्थानीय सञ्चारमाध्यममा आबद्ध पत्रकारहरू प्रशासन कार्यालय पुगेर औपचारिक रूपमा आफ्नो विरोध दर्ता गराएका हुन्।
महासंघले यसअघि पनि सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराएको थियो, तर त्यसबाट कुनै ठोस प्रतिक्रिया नआएपछि आन्दोलनलाई चरणबद्ध रूपमा देशभर विस्तार गरिएको जनाएको छ।
घोषित कार्यक्रमअनुसार वैशाख ११ गते सम्पादकीय ऐक्यबद्धतामार्फत विरोध जनाइनेछ भने सोही दिन बिहान सामाजिक सञ्जालमा पनि व्यापक अभियान सञ्चालन गरिनेछ। त्यसपछि वैशाख १४ गते विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्षसँग छलफल गर्ने र वैशाख १५ गते स्थानीय तहहरूलाई उक्त निर्णय कार्यान्वयन नगर्न आग्रह गर्ने योजना रहेको छ।
यदि यी प्रयासहरूबाट पनि माग पूरा नभए अझ कडा आन्दोलनका कार्यक्रम ल्याइने महासंघले चेतावनी दिएको छ।
११ बैशाख २०८३, शुक्रबार १३:५३