वर्षाले सडक सञ्जाल प्रभावित, पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात रोकियो

काठमाडौं । केही दिनदेखि भइरहेको लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, लेदो र सडक भासिने समस्या देखिएपछि राजमार्ग तथा ग्रामीण सडकमा यातायात प्रभावित भएको छ। जोखिम बढेपछि केही सडकमा सवारी सञ्चालन नै रोकिएको छ भने कतिपय स्थानमा सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग बन्द

चितवनमा पृथ्वी राजमार्गको इच्छाकामना–४ धारापानी क्षेत्र तथा नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाका कारण यातायात प्रभावित भएको छ। थप पहिरो खस्ने सम्भावना रहेकाले दुवै सडकखण्डमा अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन रोकिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताएका छन्।

धारापानीमा सडकको केही भाग भासिएको छ। हाल उक्त स्थानबाट साना सवारी र मोटरसाइकल मात्र चल्न सक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

काभ्रेमा विभिन्न सडकमा पहिरो

काभ्रेको पनौती नगरपालिका–१० पाटीखर्कमा रहेको खोपासी–ढुंखर्क सडकमा शुक्रबार बिहान ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ।

त्यस्तै बीपी राजमार्गको रोशी–७ चारसयबेँसी र रोशी–८ गिम्दीमा पनि पहिरो खसेको छ। यसअघि रातको समयमा काभ्रे खण्डमा सवारी आवागमन रोकिएको थियो। वर्षा र बाढीपहिरोको अवस्था हेरेर दिनको समयमा समेत यातायात बन्द गर्न सकिने प्रशासनले जनाएको छ।

पूर्वी नेपालका सडकमा पनि समस्या

पाँचथरको फिदिम–फालोट सडकखण्ड आकाशभञ्ज्याङ नजिक पहिरो खसेपछि बिहीबार साँझदेखि अवरुद्ध छ। केही दिनअघि मात्रै पहिरो हटाएर सञ्चालनमा ल्याइएको सडक पुनः बन्द भएको हो।

ताप्लेजुङमा मेची राजमार्गअन्तर्गत कावेली–ताप्लेजुङ सडकखण्डको मेवाखा क्षेत्रमा पहिरो खसेपछि यातायात रोकिएको छ। पहिरो हटाउन आवश्यक मेसिन पठाइएको इलाम सडक डिभिजन कार्यालयले जनाएको छ।

गुल्मी र ललितपुरमा पनि यातायात प्रभावित

गुल्मीमा कालीगण्डकी करिडोरका दुई स्थानमा सडक अवरुद्ध भएको छ। कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो तथा वडा नम्बर ४ पातीखोलामा पानीको बहाव बढेपछि यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।

यस्तै कान्ति लोकपथको ललितपुरतर्फका तीन स्थानमा पहिरो खसेपछि हेटौंडातर्फ सञ्चालन हुने सवारी प्रभावित भएका छन्। सडकबाट पहिरो हटाएर यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।

नागढुंगामा सवारी होल्ड

लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई सम्भावित जोखिमलाई ध्यान दिँदै नागढुंगा क्षेत्रमा होल्ड गरिएको छ।

वर्षा नरोकिएकाले थप पहिरो तथा बाढी आउन सक्ने सम्भावना रहेकाले प्रहरीले यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा सवारी नचलाउनसमेत सम्बन्धित निकायले अनुरोध गरेको छ।

९ आश्विन २०८३, शुक्रबार ०९:४६