प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपालद्वारा विदुरमा राहत वितरण, उत्तरगया र विदुरका बाढीपीडित परिवार लाभान्वित

नुवाकोट — भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपालले राहत सामग्री वितरण गरेको छ । बाढीका कारण परिवारका सदस्य गुमाएका, घरबारविहीन भएका तथा दैनिक जीवनयापनमा समस्या भोगिरहेका परिवारलाई लक्षित गरी केन्द्रले राहत सामग्री उपलब्ध गराएको हो ।


केन्द्रका कार्यकारी निर्देशक चुपबहादुर थापासहितको टोलीले २०८३ असोज ७ गते नुवाकोटको विदुर नगरपालिका–५, पिपलटार पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो । स्थानीय सरकारको समन्वय तथा समाज कल्याण परिषद्को स्वीकृतिमा राहत सामग्री वितरण गरिएको केन्द्रले जनाएको छ । राहतबाट उत्तरगया गाउँपालिका र विदुर नगरपालिकाका बाढी प्रभावित परिवार लाभान्वित भएका छन् ।


बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर केन्द्रले दैनिक जीवनमा प्रयोग हुने सामग्रीलाई प्राथमिकतामा राखेको जनाएको छ। राहत सामग्रीमा पोलार ब्ल्याङ्केट, सिरक, सिरानी, टेन्ट झुल, तौलिया, प्रेसर कुकर, कराईलगायत भान्सामा प्रयोग हुने सामग्री छन्।
केन्द्रका अनुसार बाढीपीडितका लागि २५० थान पोलार ब्ल्याङ्केट, २५० थान सिरक, ५०० थान सिरानी, २५० थान टेन्ट झुल र २५० थान तौलिया वितरण गरिएको छ । त्यस्तै, २४० थान प्रेसर कुकर र २४० थान कराई उपलब्ध गराइएको छ ।


राहत सामग्रीअन्तर्गत १ हजार २०० थान स्टिलका थाल, १ हजार २०० थान स्टिलका कचौरा र १ हजार २०० थान स्टिलका गिलाससमेत वितरण गरिएको छ। त्यस्तै, १२० लिटर क्षमताका २४० थान पानी राख्ने ड्रम, २४० थान प्लास्टिक बाटा, ४८० थान प्लास्टिक मग र ४८० जोर चप्पल उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।
प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रका कार्यकारी निर्देशक चुपबहादुर थापाले बाढीका कारण जनधनको क्षति व्यहोरेका परिवारको पीडामा केही राहत पु¥याउने उद्देश्यले सामग्री वितरण गरिएको बताउनुभयो । विपद्का कारण घरबारविहीन बनेका तथा दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका परिवारलाई आवश्यक पर्ने सामग्री छनोट गरी राहतका रूपमा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।


संस्थाले दिगो शान्तीका लागि मेलमिलाप अभियानमा काम गरिरहेको छ । यस्तो विपद्मा परेका परिवारहरुलाई भेटघाट गर्न खाली हात नजाउँ, दुखमा परेकाहरुलाई केही भएनी मलमपट्टी लगाउँ भनेर केही सामाग्री ल्याएको समेत उहाँले बताउनुभयो ।
“विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व हो । आफ्नो क्षमताअनुसार पीडित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले दैनिक जीवनमा आवश्यक पर्ने सामग्री उपलब्ध गराएका हौँ,” थापाले भन्नुभयो ।

भोटेकोशी बाढीबाट प्रभावित परिवारले परिवारका सदस्य गुमाउनुका साथै घर, लत्ताकपडा तथा दैनिक उपभोगका सामग्रीसमेत गुमाएका छन् । यस्तो अवस्थामा खाद्यान्नसँगै घरायसी तथा व्यक्तिगत प्रयोगका सामग्रीको समेत आवश्यकता पर्ने भएकाले केन्द्रले सोहीअनुसार राहत सामग्रीको व्यवस्था गरेको जनाएको छ ।
विदुर नगरपालिका–५ का वडा अध्यक्ष लीलानाथ न्यौपानेले बाढीपीडित परिवारको दुःखमा मलम लगाउने उद्देश्यले संस्थाले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। परिवारका सदस्य गुमाएका तथा घरबारविहीन भएका नागरिकलाई दैनिक जीवनयापनमा सहज हुने सामग्री उपलब्ध गराउनु महत्वपूर्ण सहयोग भएको उहाँले बताउनुभयो ।
“विपद्को समयमा पीडित परिवारलाई प्राप्त हुने सहयोगले उनीहरूको दैनिकी सहज बनाउन ठूलो भूमिका खेल्छ । संस्थाले आवश्यक १४ प्रकारका सामग्री उपलब्ध गराएर गरेको सहयोगप्रति वडा कार्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्दछौँ,” न्यौपानेले भन्नुभयो ।
समाजसेवी मोतिराम न्यौपानेले विपद्का बेला पीडित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। बाढीबाट जनधन गुमाएका तथा घरबारविहीन बनेका परिवारलाई दैनिक जीवनयापनमा उपयोगी हुने सामग्री उपलब्ध गराउनु मानवीय सहयोगको महत्वपूर्ण उदाहरण भएको उहाँले बताउनुभयो ।
लिटो होल्डिङ सेन्टरकी अध्यक्ष पार्वती तामाङले बाढीपीडित परिवारलाई सहयोग गरेर प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपालले महत्वपूर्ण मानवीय कार्य गरेको बताउनुभयो । राहत वितरण व्यवस्थित र सहज ढंगले गरिएको उल्लेख गर्दै उहाँले राहत प्राप्त गर्ने परिवार खुसी भएको बताउनुभयो ।
विपद्का कारण पीडामा रहेका परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको सरोकारवालाको भनाइ छ । घरबारविहीन भएका परिवारलाई आवास, दैनिक उपभोग्य सामग्री तथा जीविकोपार्जनमा सहयोग आवश्यक रहेको उनीहरूले बताएका छन् ।
वाढीवाट प्रभावित भएर १५ दिन सम्म हराएका र परिवारले मर्यो भनेर कृया सम्म गरिसकेका तर जीवित भेटीएका तेम्वा घलेले पहिलो पल्ट राहत पाएको बताउनुभयो । उहाँले आजसम्म कुनै राहत नलिएको र पहिलो पल्ट यति सहयोग पाउँदा खुशी लागेको बताउनुभयो ।
मदनलाल श्रेष्ठले खाद्यान्नहरु त आएको तर यस्तो प्रकारको सहयोग आजसम्म नआएको बताउँनुभयो । उहाँले यस संस्थाले वितरण गरेको सामाग्री लामो समयसम्मका लागि हुने समेत बताउनुभयो ।
प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपालले विपद्मा परेका नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराएर मानवीय सहयोगको प्रयास गरेको जनाएको छ । केन्द्रका अनुसार राहत सामग्री वितरणको उद्देश्य बाढीबाट प्रभावित परिवारको कठिन अवस्थामा केही सहजता ल्याउनु हो ।

८ आश्विन २०८३, बिहीबार १७:१२